सुनाखरीसहित पक्राउ

इनेप्लिज २०७१ फागुन १४ गते ५:३८ मा प्रकाशित

pakrau-नुवाकोट, १४ फागुन । अवैधरुपमा धादिङबाट नुवाकोट ल्याइरहेको ३०० किलोभन्दा बढीको बहुमूल्य जडीबुटी सुनाखरी प्रहरी चौकी देउरालीले बरामद गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको छ ।

बहुमूल्य जडीबुटी सुनगाभा अर्थात् सुनाखरीको सङ्कलन इजजात नलिएको र राजस्व नतिरेको तथा निकासी इजाजतसमेत नलिइकन लुकाएर ल्याइरहेको समयमा प्रहरी चौकी देउरालीले बरामद गरेको हो ।

बा३ख १३२२ नम्बरको मिनी ट्रकमा बोरामा राखेर अवैधरुपमा ल्याइएको १० बोरा सुनाखरी प्रहरीले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयलाई बुझाएको हो ।

बरामद भएको ३०९ किलो सुनाखरी बोकेका गाडीका चालक धादिङको सत्यदेवी गाविस–५ का लर्जेन तामाङलाई वन कार्यालयले नियन्त्रणमा लिएर कारबाही सुरु गरेको छ ।

बरामद भएको जडीबुटीको विभिन्न जात हुने र त्यहीअनुसार कारबाही हुने भएकाले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाएर आवश्यक कारबाही चलाउने सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिनुभयो ।

वन कार्यालयको नियन्त्रयमा रहेका चालक तामाङले स्थानीय मिलन तामाङले पठाएको सामग्री आफूले ल्याएको मात्र भनी जिकिर गरेकाले घटनामा संलग्न व्यक्तिको पहिचान र नियन्त्रणको प्रयास अनुसन्धानको क्रममा रहेको सहायक वन अधिकृत यादवले बताउनुभयो ।

केही वर्षअघिसम्म प्रतिबन्धित रहेको सुनाखरी जडीबुटी अहिले खुलारुपमा सङ्कलन र निकासी हँुदै आएको छ । सुनाखरी बहुमूल्य जडीबुटीको रुपमा अन्तर्राष्ट्रिय बजारमा कारोबार हुँदै आएको छ ।

बहुमूल्य जडीबुटी सुनखरीको निकासी गर्दा वन कार्यालयले वनस्पति विभागमा पत्र पठाएर स्वीकृत लिएर मात्र सङ्कलन र निकासीको अनुमति दिने व्यवस्था रहेकाले वैधानिक कारोबारी प्रक्रिया पनि झन्झटिलो रहँदै आएको छ ।

जिल्ला वन कार्यालय नुवाकोटबाट अहिलेसम्म अनुमति लिएर सुनखरीको कारबाही गर्ने कोही पनि नभएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया