आँखा उपचार केन्द्रको स्तरोन्नति हुने

इनेप्लिज २०७२ चैत १२ गते १:२५ मा प्रकाशित

बागलुङ, १२ चैत । आँखा उपचार केन्द्र बागलुङमा शल्यक्रिया कक्षका लागि छुट्टै भवन बन्ने भएको छ ।

सर्वसाधारण जनतालाई स्तरीय सेवा दिन नेत्र ज्योति सङ्घले केन्द्रको स्तरोन्नति गर्न लागेको हो । सुविधायुक्त पूर्वाधार बनेपछि शल्यक्रिया गर्नुपर्नेलगायत जटिल समस्याका बिरामीले प्रभावकारी उपचार पाउने छन् ।

केन्द्रका अध्यक्ष धु्रव केसीले आगामी नौ महिनाभित्र भवन बनाइसक्ने बताउनुभयो । रु ६२ लाखको लागतमा बन्ने चार कोठे भवनको शिलान्यास गरी काम अघि बढाइएको छ । भवनका लागि ‘आइकेयर फाउन्डेसन’ ले रु ३५ लाख सहयोग गरेको हो । बाँकी रकम जिल्ला विकास समिति, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाबाट जुटाइने भएको छ ।

केन्द्रले आफैँले भवन निर्माणमा लगानी गर्ने भएको छ । अध्यक्ष केसीको नेतृत्वमा ११ सदस्यीय भवन निर्माण समितिसमेत गठन भएको छ । “शल्यक्रिया कक्ष निर्माणसँगै जटिल समस्याका बिरामी अन्यत्र जानुपर्ने बाध्यता हट्छ,” अध्यक्ष केसीले भन्नुभयो –“सुविधासम्पन्न भवनबाट बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न हामी प्रतिबद्ध छौँ ।” केन्द्रले हाल महिनाको एक साता शल्यक्रिया सेवा दिँदै आएको छ ।

आँखा रोग विशेषज्ञ हरिविक्रम अधिकारीबाट केन्द्रमा उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्ने गरिएको छ । शल्यक्रियाको लागि अलग्गै कक्ष बनेपछि दैनिकरुपमा शल्यक्रिया सेवा दिन सकिने केन्द्रले जनाएको छ ।

भौतिक पूर्वाधार, उपकरणसँगै दक्ष जनशक्ति व्यवस्थापन गर्ने योजना पनि केन्द्रसँग छ । सबै खाले आँखाका बिरामीको उपचार केन्द्रबाटै गर्ने लक्ष्य केन्द्रको छ ।

केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा नेत्र ज्योति सङ्घले पनि सघाउँदै आएको छ । केन्द्रकै आयोजनामा विभिन्न समयमा निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन हुँदै आएको छ । यसैसाता जिल्लाको दगातुम्डाँडामा राखिएको शिविरबाट सयौँले निःशुल्क उपचार सेवा पाएका थिए ।

प्रतिक्रिया