बनेन स्वास्थ्य केन्द्र

इनेप्लिज २०७२ फागुन २८ गते ११:५३ मा प्रकाशित

इलाम, २८ फागुन । सम्झौता सकिएको दुई वर्ष बित्न लाग्दासमेत इलामको पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनको निर्माण कार्य सकिएको छैन ।

नेपाल सरकारको रु चार करोड नौ लाख ६६ हजारको लागतमा सो भवन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले रु तीन करोड ४३ लाख ६४ हजारमा ठेक्का लगाएको थियो । मिलेनियम देव एण्ड सायर जेवी कम्पनीले २०७० भदौ १८ गते निर्माण सम्पन्न गर्ने गरी २०६९ जेठ १९ गतेदेखि काम सुरु गरेको डिभिजन कार्यालय, इलामले जनाएको छ ।

तर, सम्झौता सकिएको दुई वर्ष बित्दा पनि भवन निर्माणको काम नसकिएपछि अहिले डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने चेतावनी दिएर काम गराउन थालेको छ ।

पछिल्लो पटक ४५ प्रतिशतमात्र काम भएको थियो । कालो सूचीमा राख्ने गरी सूचना निकाल्यौँ । त्यसपछि थप ५÷१० प्रतिशत काम भएको डिभिजन कार्यालयका नासु शशि पनेरुले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य केन्द्रको काम समयमा नसकिँदा पुरानो भवनमा बस्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई बिरामीको उपचारमा भने समस्या भएको छ ।

दैनिक १५ देखि २० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिने केन्द्रमा गत वैशाखको भूकम्पपछि भवन चर्किएकाले बिरामीको प्राथमिक उपचारमै समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया