स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित गरिने: प्रम ओली

इनेप्लिज २०७२ फागुन ४ गते १२:१५ मा प्रकाशित

pmकाठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित गरेर व्यावसायिक उत्पादनमा जोड दिने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको २७ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा उद्यमी पुरस्कार कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाउन सकिए विद्यमान व्यापार घाटा कम गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले स्वदेशमा खपत हुने र उत्पादन गर्न सकिने सामग्री पर्याप्तरुपमा उत्पादन गर्नुपर्नेमा उद्योगीको ध्यानाकर्षण गराउनुभयो ।

देशको स्रोत र साधनलाई समुचित प्रयोग गर्नसकेमा नेपाल अधिकांश वस्तुमा आत्मनिर्भर बन्नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो देशमा अन्यत्रको भन्दा राम्रो उत्पादन हुन्छ, त्यसलाई ध्यान दिएर उत्पादन र प्रयोगमा जोड दिनुपर्छ ।”

गुणस्तरीय उत्पादनमा ध्यान नदिएकाले स्वदेशी उत्पादनले बजार पाउन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले गुणस्तरीय उत्पादन गर्नेतर्फ उद्योगीको ध्यान जानुपर्ने बताउनुभयो । स्वदेशी उत्पादनलाई सस्तो बनाउनका लागि उत्पादन लागत कम गर्नुपर्ने र उत्पादनको आयतन बढाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताका साथ अगाडि बढ्ने समय आएको उल्लेख गर्दै मुलुकलाई समृद्ध र विकसित बनाउने सङ्कल्पका साथ अगाडि बढ्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्वदेशी उत्पादनलाई राज्यका सबै निकायले प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशी उत्पादनमा जोड दिने उद्योग तथा उद्योगीलाई सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने भएकाले यस कार्यका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा निजी क्षेत्रका विकास समितिका अध्यक्ष जगन्नाथ नेपाल र समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्दै आएको उल्लेख गर्दै यसलाई व्यापक बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभयो ।

निर्देशक ताम्राकारले फागुन ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ७५ जिल्लाबाट ३०० भन्दा बढी उद्योगीले भाग लिएको र प्रदर्शनी अवधिभर सात लाखले अवलोकन गर्ने र रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया