सहकारीको क्षेत्रमा महेन्द्र गिरीको नाम नौलो होइन । उनी सहकारी अभियानमा लागेको दुई दशक पूरा भयो । गिरी ०५२ सालदेखि सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थामा अवद्ध छन् । उनी सहाराका सचिव तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।
सहकारीबाटै चिनिएका गिरी सबैमाझ लोकप्रिय मानिन्छन् । ३३ जना व्यक्तिहरुले ३४ हजार रुपैयाँ शेयर पुँजीबाट स्थापना गरेको सहारामा अहिले झण्डै ९० हजार सदस्य छन् । संस्थालाई यो स्थानसम्म ल्याइर्पुयाउन उनले अहोरात्र खटेका छन् । गिरी पदमा भन्दा काममा विश्वास गर्छन् । यो अवधिभर उनले कुनै संघ-संगठनमा पदको लोभ गरेनन् । सर्वसम्मत हुँदै गए । उनी जुन काममा लाग्छन्, त्यसलाई सफल पारेरै छाड्छन् । यो गिरीको विशेषता हो ।
यसपटक गिरी झापा जिल्ला सहकारी संघको नेतृत्वमा आउन चाहे । फागुन १ गते हुने चुनावका लागि उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ‘यसअघि म कुनै पदमा उठेको थिइनँ,’ गिरी भन्छन्, ‘सहकारी संघमा मैले नामका लागि होइन, कामका लागि उम्मेद्वारी दिएको हो ।’ सामाजिक सञ्जालमा त उनी सर्वसम्मत जस्तै भइसके । झापाली सहकारीकर्मीले गिरीको फोटो पोस्ट गरेर अग्रिम शुभकामना दिइरहेका छन् ।
संघका निवर्तमान अध्यक्ष हरिचरण बानियाँ र वर्तमान अध्यक्ष गणेश ढकालले आग्रह गरेपछि आफूले उपाध्यक्षमा उम्मेद्वारी दिएको गिरी बताउँछन् । ‘हरिचरण जी र गणेश जी ले प्रारम्भिक सहकारीमा मात्र नबस्नुस्, सहकारी संघको नेतृत्वमा आउनुस् भन्नुभो,’ उनी भन्छन्, ‘झापाका सम्पूर्ण सहकारीकर्मीले उठ्नुस् हामी सघाउँछौँ भन्नुभएको छ ।’
सहकारी संघले लिएका उद्देश्यलाई सफल बनाउनका लागि आफूले उम्मेद्वारी दिएको गिरी बताउँछन् । झापालाई सहकारी हव बनाउने उनको लक्ष्य छ । सहकारीमार्फत कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने योजना छ उनको । ‘स-साना सहकारीलाई पनि क्षमता विकासमा सहयोग गर्नुपर्छ, झापालाई पूर्वकै नमूना बनाउनुपर्छ,’ उनी भन्छन्, ‘सहकारीको क्षेत्रमा झापाले गरेको प्रगती सुनेर बाहिरका मान्छे पनि हेर्न आउन् न !’
जिल्ला सहकारी संघले सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । आफू उपाध्यक्ष बनेपछि त्यसलाई पूरा गरिछाड्ने गिरीको अठोट छ । समर्पण राष्ट्रिय अभियान सफल पारेर देशैभर चर्चामा आएका गिरी झापा जिल्ला सहकारी संघलाई नेपालकै ‘मोडल संघ’का रुपमा स्थापित गराउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।
प्रस्तुति-लक्ष्मी काफ्ले
प्रतिक्रिया