विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही माग

इनेप्लिज २०७२ माघ १९ गते १०:३८ मा प्रकाशित

पथरी (मोरङ), १९ माघ । विराटनगर–२ मा रहेको युरोकिड्स नेपाल नामक विद्यालयका कक्षा ५ का ११ वर्षीय मधु मारुलाई कुटपिट गरी घाइते बनाएको विरोधमा अभिभावकले शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

विद्यालयका शिक्षक महेश कटुवालले विद्यार्थी मारुलाई कुटपिट गरेपछि निजका अभिभावक र स्थानीयवासीले विद्यालय व्यवस्थापनलाई आगामी दिनमा कुनै पनि विद्यार्थीलाई कुटपिट तथा दुव्र्यवहार नगर्न चेतावनी दिँदै विद्यालय घेराउ गरेका हुन् ।

मारुलाई नेपाली गीत गाउन नजानेको आरोपमा कटुवालले फलामको छडीले ढाडमा निर्घात कुटपिट गरेको पीडितका हजुरबुबा प्रकाशले आरोप लगाउनुभयो ।

सो विद्यालयका प्रशासन प्रमुख सन्तोष न्यौपानेले सो घटनाबारे आफूले बुझ्ने र दोषीमाथि कारबाही गर्ने आश्वासन दिनुभयो । सो घटनाका कारण विद्यालय तनावग्रस्त बनेको छ । यसअघि पनि विद्यार्थी कुटपिट गर्ने सो विद्यालयका एक शिक्षकलाई निष्काशन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया