इटहरी, ७ माघ । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको आयोजना तथा महासङ्घ सुनसरी शाखाको संयोजनमा इटहरीमा सम्पन्न ‘पत्रकार सुरक्षा तथा आचारसंहिता’ विषयक बृहत अन्तरक्रियाबाट १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।
इटहरीमा आयोजित पूर्वाञ्चलस्तरीय पत्रकारको भेलाले महासङ्घ र काउन्सिलले जारी गरेको यसअघिको आचारसंहितामा थप परिमार्जन गर्दै सञ्चारकर्मीले आफूलाई आमुल परिवर्तन गर्दै जिम्मेवार र आम नेपाली जनताप्रति जवाफदेही भएर काम गर्ने जिम्मेवार सञ्चारकर्मीका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।
घोषणापत्रमा मधेसका मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिँदै द्वन्द्व निरुपणका निम्ति सरकारसमक्ष सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध हुने घोषणा गरिएको छ ।
पत्रकारलाई जिम्मेवार तुल्याउन शुद्धीकरण जरुरी रहेकातर्फ पनि विशेष ध्यानार्षण गराउँदै आन्दोलनरत क्षेत्रका समाचार प्रकाशन एवम् प्रसारणमा सम्बन्धित सञ्चार माध्यमलाई विशेष आग्रह गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा सञ्चार प्रतिष्ठानले पनि जिम्मेवार र जवाफदेही भएर आचारसंहिताको पालना गर्नुपर्ने र न्यूनतम् पारिश्रमिक निर्धारण आयोगले तोकेको पारिश्रमिक दिनुपर्ने तथा सूचना विभागले जारी गर्ने प्रेस पासलाई अधिक पारदर्शी बनाएर लैजाने विषयलाई पनि उच्च प्राथमिकता दिइने उल्लेख छ ।
प्रतिक्रिया