भवन अभावमा जाडोले कठ्याङ्ग्रिदै खुला चौरमा बसेर पढ्न बाध्य

इनेप्लिज २०७२ मंसिर २५ गते १:४९ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २५ मङ्सिर । भारतको अघोषित नाकाबन्दीका कारण निर्माण सामग्रीको अभावले विद्यालय भवन निर्माण हुन नसक्दा म्याग्दीको एक विद्यालयका विद्यार्थी मङ्सिरको जाडोमा कठ्याङ्ग्रिदै खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट फापरखेतको खड्गभवानी प्राविको भवन गत वैशाखको विनाशकारी भूकम्पका कारण चर्किएर बस्नै नसक्ने भएपछि असारबाट निर्माण गर्न लागिएको थियो ।

पहिला वर्षा र त्यसपछि लगत्तै भएको नाकाबन्दीका कारण आवश्यक निर्माण सामग्रीको अभावमा भवन निर्माण हुन नसकेपछि विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताउनुभयो ।

विद्यालयको भवन बस्नै नमिल्ने गरी चर्किएपछि जिल्ला शिक्षा कार्यालयबाट रु सात लाख ५० हजार र दुई लाख ५० हजार बराबरको श्रमदानमा तीनकोठे भवन निर्माणकार्य सुरु गरिए पनि निर्माण सामग्रीको अभावमा भवन पूरा गर्न नसकिएको प्रअ चर्मकारले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा ६२ जना विद्यार्थी रहेकामा सम्पूर्ण विद्यार्थी दलित समुदायका रहेका छन् ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको कक्षा २ र ३ का विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको छ भने कक्षा १ का विद्यार्थीलाई पुस्तकालयमा राखिएको छ । ४ र ५ कक्षाका विद्यार्थी भने चर्केकै कक्षा कोठामा बसेर पढिरहेको जानकारी प्रअ चर्मकारले दिनुभयो ।

प्रतिक्रिया