लुम्देमा कम्प्युटरबाट गाविसको कार्यसम्पादन

इनेप्लिज २०७२ कार्तिक ३० गते ५:११ मा प्रकाशित

computerइलाम, ३० कात्तिक । जिल्लाका अधिकांश गाविस कार्यालयमा विद्युत् सेवाको पहुँच नभएको अवस्थामा यहाँको लुम्दे गाउँ विकास समितिको कार्यालयले कम्प्युटर प्रविधिबाट कार्यसम्पादन गर्न थालेको छ । कार्यालयले सौर्यप्रविधि जडान गरेर कार्यालयबाट सम्पादन गरिने सम्पूर्ण सेवा कम्प्युटरकृत गरेको हो ।

जिल्ला सदरमुकामबाट करिब ५२ किलोमिटर पश्चिममा पर्ने यो गाउँमा विद्युत्को केन्द्रीय प्रसारण लाइन नहुँदा सौर्यप्रविधि जडान गरी सेवा प्रदान गर्न सुरु गरेको गाविस सचिव लेकबहादुर नेम्वाङले बताउनुभयो ।

पञ्जीकरण सफ्टवेयरमा प्रिन्ट गरेर सेवाग्राहीको काम छिटो, छरितो र गुणस्तरीय होस् भन्ने उद्देश्यले आधुनिक प्रविधि अपनाइएको हो । गाविसले एउटा एलइडी कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, स्कायनरजस्ता उपकरण जडान गरी सिफारिसबाहेक जन्मदर्ता, मृत्यु, बसाइँसराइ, चिट्ठीपत्रलगायतका अधिकांश काम कम्प्युटरबाट गर्दै आएको छ । “कार्यालयलाई पेपरलेस बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्प्युटर प्रणाली अवलम्बन गरेका हौँ”, सचिव नेम्वाङले भन्नुभयो, “अहिले यो गाविस पश्चिमकै उदाहरणीय र नमुना बनेको छ ।”

बर्खायाममा गाडीको बन्दोबस्त मिलाएर दुखकष्टका साथ सोलार सेट पुर्‍याएर जडान गरिएको हो । दुई किलोवाट क्षमताको सोलारबाट गाविसमा नौवटा बत्ती, कम्प्युटरलगायतका विविध सामग्री जडान गरिएका छन् । सिङ्गो गाउँमा विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेकाले गाविसमा जडान गरिएको सौर्य प्रणालीबाट मोबाइल चार्ज गर्न पनि भरपर्दाे भएको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्यप्रविधि जडानमा अनुदान सहयोग गरेको हो । केन्द्रको ७५ प्रतिशत अनुदान, बाँकी जिविस र गाविसको लगानीमा सौर्यप्रविधि जडान गरिएको हो । कुल रु नौ लाख ७२ हजार खर्चमध्ये वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु सात लाख २९ हजार, जिविसले रु एक लाख ५० हजार र गाविसको रु ९३ हजारको लागतमा सौर्यप्रविधि जडान गरी कार्यालयले कम्प्युटर प्रणालीबाट सेवा दिन थालेको हो ।

गाविसले प्रदान गर्न थालेपछि एकैछिनमा सेवा दिन थालिएको कार्यालयका प्राविधिक युवराज दाहालले बताउनुभयो ।
सौर्यप्रविधि जडान गरेपछि गाविसले इन्टरनेट सेवासमेत विस्तार गर्न लागेको छ । नेपाल टेलिकमले वितरण गर्दै आएको ताररहित इन्टरनेट प्रविधिको सुरुवात गरिएको गाविसले जनाएको छ । इन्टरनेटका लागि जिविसले सिडिएम फोनसमेत उपलब्ध गराएको छ । सानोतिनो कामका लागि घन्टौँ धाएर सेवाग्राहीलाई सदरमुकाम आउजाउ गर्न नपरोस् भन्नका लागि सौर्यप्रविधि प्रभावकारी भएको नेम्वाङले बताउनुभयो ।

प्रतिक्रिया