नेपालीहरुको प्रदर्शनपछि भारत आश्चर्यचकित, बेलायतमा ‘हाइ कमिसन’ले छानविन गर्दै

इनेप्लिज २०७२ कार्तिक २९ गते ०:१७ मा प्रकाशित

Modi-Ko-Birodha-London-Nepali-650x488काठमाडौं, २८ कात्तिक । तीन दिने बेलायत भ्रमणका क्रममा बेलायत पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै अगाडि नेपालीहरुले भारतको विरोध गरेपछि ‘हाइ कमिसन’ले छानविन सुरु गरेको छ । मोदीले नै सुन्ने गरी नेपालीहरुले ‘ब्याकअफ इन्डिया’ र ‘रिमुभ ब्लकेड’को नारा लगाएपछि भारतीय प्रधानमन्त्री कार्यालयको निर्देशनमा बेलायतस्थित भारतीय उच्च आयुक्त (हाइ कमिशन)को कार्यालयले बेलायतमा नेपालीको प्रभाव कति भनेर छानविन सुरु गरेको हो । भारतको अंग्रेजी दैनिक पत्रिका इन्डियन एक्स्प्रेसले लेखेको छ- ‘लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ ।’ समाचार अनुसार मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शन देखेर भारतीय प्रतिनिधिमण्डल छक्क परेको एक उच्चायुक्त कर्मचारीले खुलासा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए । लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए । ‘गुजरात घटनाका कारण शिखहरुको प्रदर्शन अपेक्षित नै थियो । नेपालीको प्रदर्शनले हामीलाई चकित तुल्याएको छ । हाइ कमिसनले यससम्बन्धी एउटा प्रतिवेदन छिटै पठाउँदैछ’, स्रोतलाई उदृत गर्दै सो पत्रिकाले लेखेको छ । विहीबार बेलायत भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री मोदी र भारतीय नाकाबन्दीविरुद्ध लण्डनमा एनआरएनलगायत करिब चार दर्जन संघसंस्थाको सक्रियतामा हजारौं नेपाली तथा भारतीय स्वस्फूर्त प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया