महोत्तरीको सोनामाईमा भूत मेला सुरु

इनेप्लिज २०७२ कार्तिक २ गते ३:४० मा प्रकाशित

गौशाला, २ कात्तिक । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई शक्तिपीठमा आजदेखि भूत मेला सुरु भएको छ ।

जिल्लाको सोनामाई गाविस वडा नं ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात रहेको छ ।

हरेक वर्ष बडादसैँको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि आजदेखि सुरु भएको पुजारी कामेश्वर झाले बताउनुभयो ।

बडादसैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौँ पीडित र दर्शनार्थीको भीड लाग्ने गर्छ ।

भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजाराँै पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्छन भने सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ ।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै को कसबाट सताइएको बारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन र दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको पुजारी झगरु झा बताउनुहुन्छ ।

यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौँडादेखि भारतका पटना सहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको कुरा अर्का पुजारी रमेश झाले बताउनुभयो ।

घरघरमा भूतप्रेतले रातदिन दुःखी र पीडित भएका कारनी ( पीडित) हरु आ–आफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको कुरा झाँक्रीहरु बताउँछन् ।

सोनामाई शक्तिपीठमा दर्जनौँ धामी झाँक्री रातदिन भजन कीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४सै घन्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको कुरा अर्का पुजारी घनश्याम झा बताउनुहुन्छ ।

यसवर्ष सोनामाई भूत मेलामा १५ लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ ।

प्रतिक्रिया