काठमाडौँ, ३१ असोज । विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर निर्मित ‘भाग्यले बाँचेकाहरु– मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ नामक चर्चित डकुमेन्ट्रीको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । स्वदेशका विभिन्न जिल्ला तथा अष्ट्रेलिया र मलेसियामा समेत प्रदर्शन भइसकेको यो डकुमेन्ट्रीको शनिबार मात्रै ट्रेलर सार्वजनिक गरिएको हो । ५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । संचारकर्मी गणेश पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ । डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । यसैगरी, पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ । यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल, काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाए अनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई डकुमेन्ट्रीमा समेटिएको छ । यसैगरी, भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० साल र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।
प्रतिक्रिया