नयाँ संविधान बनेपछि सहिद परिवार हर्षित

इनेप्लिज २०७२ असोज ६ गते १:५८ मा प्रकाशित

फलेवास (पर्वत), ६ असोज । संविधानसभाबाट नयाँ संविधान पारित भएपछि सबैभन्दा खुसी सहिद परिवार देखिएका छन् ।

विसं २०६२/६३ को जनआन्दोलनका सहिद गोविन्दनाथ शर्माकी पत्नी भगवतीले भन्नुभयो–“श्रीमान्को निधन हुँदा जति पीडा थियो, त्यति नै पीडा संविधान नबन्दा भइरहेको थियो ।”

संविधान नबन्दा सहिदको सपना साकार नहुने हो कि भनेर निकै चिन्ता लागे पनि नयाँ संविधान संविधानसभाबाट घोषणा भएपछि आफू सबैभन्दा खुसी भएको उहाँले बताउनुभयो । “आफ्नो सत्ताका लागि नेताले जनतालाई अगाडि सारेर भ¥याङ मात्रै बनाएको अनुभूति भएको थियो”, उहाँले भन्नुभयो–“जे–जस्तो भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन सफल भएकामा म नेताहरुलाई पनि बधाई दिन्छु ।”

नयाँ संविधानले मुलुकमा शान्ति, स्थायित्व र विकास ल्याउनुपर्ने बताउँदै उहाँले मुलुकमा अब कहिल्यै अशान्ति नआउने अवस्था बनाउन नेतासँग आग्रह गर्नुभयो । “संविधान बनेकोमा हामी त खुसी छौँ तर केही ठाउँमा अशान्ति पनि भएको छ”, उहाँले भन्नुभयो–“असन्तुष्टलाई सहमतिमा ल्याएर सबैले शान्तिको सास फेर्न पाइयोस् ।”

“नेताहरुले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर राष्ट्रका लागि सोच्ने हो भने समस्या कही छैन”, उहाँले भन्नुभयो, “व्यक्तिगत र पार्टीगत स्वार्थले नै संविधान बन्न अहिलेसम्म कुर्नुपर्ने परिस्थिति बनेको हो ।”

सहिद गोविन्दनाथ शर्माका भाइ देव शर्माले आफ्नो जीवनकै खुसी व्यक्त गर्नुभयो । “संविधानसभाबाट नयाँ संविधान बनेपछि सहिदका परिवारलाई त्यो भन्दा खुसी अरू के हुन्छ र ?”, शर्माले भन्नुभयो । नेताहरुको हठकै कारण संविधान बन्न ढिलाइ भएको भन्दै उहाँले मुलुकको समृद्धिका लागि पनि सबै दलका नेता मिल्नुपर्ने बताउनुभयो ।
संविधानमा सबैका भावना समेट्न नसकिए पनि असन्तुष्टलाई सहमतिमा ल्याएमा मुलुकले शान्ति पाउने आशा उहाँको छ । उहाँले मुलुकमा बन्द, हडताल, हत्या, हिंसा, अशान्ति मात्रै हुँदा सहिद परिवारका अपेक्षा पूरा नभएको भन्दै सहिद परिवारसँगै आम नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

सहिद पत्नी भगवतीले नयाँ संविधान बनेकामा सबैभन्दा खुसी लागे पनि सहिद परिवारको सामाजिक सुरक्षामा ध्यान नदिएकामा दुखेसो पोख्नुभयो । “चारजना छोराछोरी पढ्दैछन्, पढाउन निकै गाह्रो भएको छ”, उहाँले भन्नुभयो, “नयाँ संविधानमा वास्तविक सहिद परिवारको सामाजिक सुरक्षालाई ध्यान नदिएकोमा दुखी छु ।”

प्रतिक्रिया