उत्तर कोरियाबाट मानिस सिधै दक्षिण कोरिया प्रवेश, सेनाद्वारा पक्राउ 

इनेप्लिज २०८२ असार २० गते १६:०८ मा प्रकाशित

एक अपरिचित उत्तर कोरियाली व्यक्ति दुई कोरियालाई छुट्ट्याउने कडा सुरक्षा भएको जमिन सिमाना पार गरेर दक्षिण कोरिया पुगे पछि उनलाई पक्राउ गरिएको छ ।

एपिका अनुसार दक्षिण कोरियाको सेनाले शुक्रबार यसको जानकारी दिएको हो भने अहिले उनी दक्षिण कोरियाको हिरासतमा छन्।

दक्षिण कोरियाको संयुक्त सैनिक प्रमुखले बताएअनुसार, सेनाले ती व्यक्तिलाई सैन्य सीमा रेखाको मध्य-पश्चिमी क्षेत्रमा पत्ता लगाएको थियो । बिहीबार राति उनलाई “मार्गदर्शन अभियान” मार्फत आफ्नो नियन्त्रणमा लिएको थियो।

अधिकारीहरूले यो सीमा पार गर्ने घटनाको छानबिन गर्ने योजना बनाएका छन्। यो भाग्ने प्रयास हो वा होइन भन्नेबारे तत्काल कुनै जानकारी दिइएको छैन।

यो घटनाबारे अमेरिकी नेतृत्वको संयुक्त राष्ट्र कमान्डलाई जानकारी गराएको बताएको छ। उत्तर कोरियाबाट कुनै असामान्य सैन्य गतिविधि नदेखिएको पनि उनीहरूले जानकारी दिए।

एक दक्षिण कोरियाली सैन्य टोलीले ती निशस्त्र उत्तर कोरियाली व्यक्तिलाई पत्ता लगाएपछि नजिक गएको थियो। 

आफूहरू दक्षिण कोरियाली सेना भएको बताएर, उनीहरूले उनलाई दुई कोरियालाई विभाजन गर्ने, बारुदी सुरुङ बिछ्याइएको निशस्त्रीकृत क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए।

प्रतिक्रिया