स-साना कुरामा खुसी हुने म , यो दुकानले आज ठुलै खुसी दियो । आईतवार तुलसी रोप्ने एकादशी भनेर सोसलमिडियामा जताततै प्रचार गरेको देखेको थिंए । ठुलै धर्म हुने रहेछ भने त , लौ यो बर्ष म पनि गमलामा तुलसी रोप्छु सोचिरहेको थिंए । तुलसीको बिरूवा किन्नु पर्र्यो भनेर होम डिपोतिर जाँदै गर्दा बाटोमा पर्ने नेपाली ग्रोसरी स्टोर दुकानमा पो पाईन्छ की भनेर पसें । तुलसीको बिरूवा त भेटिन तर तुलसी रोप्ने सानो चिटिक्क परेको “तुलसीको मठ “ पो भेटियो । मैले पहिलो पटक तुलसी रोप्न रहर पनि गर्नु, गमलाको सट्टा तुलसीको मठ नै भेटिनु , गज्जबै संजोग जुर्र्यो आज !
हुन त यो स्टोर गएको यो पहिलो पटक हैन मेरो ! आजकल म नियमित ग्राहक जस्तो प्रत्येक पटक ग्रोसरी गर्न जाँदा तेंहा पसिरहेकै हुन्छु । तेंहा गई रहन मन लाग्नुको मुख्य कारण चाहीं , तेंहा काम गर्नु हुने नेपाली भाई बहिनीहरूको आत्मियताले भरीएको व्यवहारले गर्दा हो । छिर्ने साथ “ के छ दिदी भन्नु हुन्छ र चिया खाने सोध्नु हुन्छ । “ म परें चियाको पारखी , जुनबेला पनि पिउन तयार , किन हुन्न भन्थें र , एक कप पिई हाल्छु । कहिले काहीं त तातो सेल पनि पो चियासँग खान जुर्छ ।
कुरा पोहोर साल अगष्टतिर ड्याडी मम्मी अमेरिका आउँदाको हो । उंहाहरूलाई लिएर घुमाउँदै वालमार्ट , ग्रोसरी स्टोर पस्दै जाने क्रममा “ दुकान “ लेखेको स्टोर देखें । ओहो , यँहा त पहिले पटेल ब्रदर्स पो थियो । नँया नामको स्टोर देखेर झनै पस्न मन लाग्यो । भित्र पसेको त काउन्टरतिर नेपाली भाषामा ग्राहकसँग बोलेको सुने । कुरा गर्दै जाँदा काउन्टरमा बस्नु भएको नेपाली बहिनीहरूले नै पो भर्खरै केही महिना अगाडी यो स्टोर किन्नु भएको रहेछ । तेस दिनदेखि नेपालीको स्टोर भनेर किनमेल गर्न पसिरहन्छु ।
हेर्दाहेर्दै पसलमा सामानहरू धमाधम थपिंदै गएर ग्रोसरीका थरीथरीका सामानहरूदेखि लिएर , तिहारमा नेपालबाट ल्याएको ताजा मखमली फूलको माला , पूजा सामग्री , नेपाली टोपी , भाँडाकुँडा , ताजा हरीयो फर्सीको मुन्टा देखि रूख टमाटर आदी सबै पाउन थालेको छ । पसल पस्दा नेपालमा नै रहेको कुनै किराना पसल छिरे जस्तो अनुभव हुन्छ । झन् पसले भाई बहिनीहरू हाँसेर मिठो आत्मियता जताएर कुरा गर्नु हुन्छ । तेसले स्टोरमा आउने जो कोहीलाई फेरीफेरी आउँआउँ पक्कै बनाउँछ।
हुँदाहुँदा आजकल त पहेंलो बेसार दलेको छाला सहितको खसीको मासु पनि पो पाउन थालेको छ । मासु किनेर ल्याएर पकाउँदा ठ्याक्कै उहिले काठमाडौंको पुरानो बानेश्वरको मोटेको पसलबाट ल्याएको मिठो स्वादिलो मासुको जस्तै याद दिलायो । केही महिना पछि त नेपाली खाना पाईने रेष्टुरेन्ट पनि संचालनमा आउने रहेछ ।ताजा मासु काट्ने ठाउँ पनि थपिंदै रहेछ ।
हुन त आजकल जति नेपाली थपिंदै छन् । उती नै नेपाली खाना पाईने रेष्टुरेन्ट, ग्रोसरी स्टोर आदी वरपर खुल्दैछन् । कुनै समय नेपाल गएकोबेला नेपालबाट जसरी पनि मरमसला नल्याई हुन्नथ्यो । हतपत नजिकै किन्न पाईन्नथ्यो । आजकल त मस्यौरा , गुन्द्रुक , तामा , तितौरा , अचार देखि पूजाको साम्रगी समेत सबै भर्जिनियाका बिभिन्न ठाउँमा नेपालीले संचालन गरेको ग्रोसरी स्टोरमा नै पाउन थालेको छ । को गरोस् नेपालबाट ल्याउने झन्झट !
मेरो बिचारमा नेपाल र नेपालीलाई माया गर्छु भन्नेले आफ्नो घर वरपर रहेका नेपालीहरूले नै संचालन गरेको पसलबाट सामानहरू किनमेल गरेर र नेपाली रेष्टुरेन्टमा गएर खाएर उँहाहरूलाई हौसला दिनुपर्छ । उँहाहरूको व्यापार व्यवसाय टिक्नु भनेको नेपाली समुदाय बलियो हुनु हो ।
मैले थाहा पाएसम्म अहिले भर्जिनियाका बिभिन्न शहरमा दुकान , नमस्ते मार्केट , किराना पसल , सगुन मार्ट नामक नेपालीका ग्रोसरी स्टोर र हिमालयन वाईल्ड याक , रोयल नेपाल बिस्त्रो , तन्दुरी फेयरफ्याक्स , राग तन्दुर , मोमो मन्त्र , करी मंन्त्र आदी नेपालीका रेष्टुरेन्ट संचालनमा छन् ।
लेखिका
प्रतिक्रिया