अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण घरेलु नीति विधेयक पारित गर्न धेरै सकारात्मक प्रगति भएको बताएका छन्। तर, उनले यो विधेयकपारित हुँदा सबै रिपब्लिकन सांसदहरू १००% खुसी नहुने स्वीकार गरेका छन्।
जोनसनका अनुसार यति ठूलो र धेरै विषय समेटिएको विधेयकमा सबैका आ-आफ्नै प्राथमिकता र रुचि हुनु स्वाभाविक हो, किनकि उनीहरूले विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्छन्। उनले भने, “हामी सबैलाई १००% खुसी बनाउन सक्दैनौं। यो असम्भव छ। यो एउटा विचार-विमर्श गर्ने निकाय हो, जहाँ सबैले आफ्नो व्यक्तिगत प्राथमिकता त्याग्नुपर्छ, तर मूल सिद्धान्तमा सम्झौता गर्नुहुँदैन।”
सिएनएनका अनुसार यो विधेयक पारित गर्न जोनसनलाई रिपब्लिकनहरूको पर्याप्त समर्थन छ वा छैन भन्ने अझै स्पष्ट भै नसकेको जनाएको छ । विधेयकलाई अन्तिम रूप दिन प्रतिनिधि सभाले एउटा महत्त्वपूर्ण प्रक्रियागत मतदानको तयारी गरिरहेको छ।
जोनसनले कट्टरपन्थी र ‘स्विङ-डिस्ट्रिक्ट’ (दुवै दललाई मत दिन सक्ने मतदाता भएको) रिपब्लिकनहरूसँग कुराकानी गरिरहेको बताएका छन्।
उनले भने, “हामीले धेरै राम्रा कुराकानी गरेका छौं। राष्ट्रपति पनि यसमा पूर्ण रूपमा सक्रिय छन् र सबैलाई यो नै हामीले बनाउन सक्ने सबैभन्दा राम्रो विधेयक हो भनी बुझाउने प्रयास गरिरहेका छन्।”
यसैबीच, विधेयकको विपक्षमा रहेका टेनेसीका सांसद टिम बर्चेतले राष्ट्रपति ट्रम्पसँग भेटेपछि आफू विधेयकको पक्षमा मतदान गर्नेबारे नजिक पुगेको बताएका छन्। उनले राष्ट्रपतिले धेरै जानकारी दिएको र सबै तथ्यहरू स्पष्ट पार्न फेरि भेट्ने बताए। साउथ डकोटाका सांसद डस्टी जोनसनले पनि ट्रम्पले यो विधेयक पारित गराउन निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया