आइडाहोमा ४ जना बिद्यार्थीका हत्यारा ब्रायन कोहबर्गरद्वारा अपराध कबुल ,मृत्युदण्डबाट जोगिए

इनेप्लिज २०८२ असार १८ गते १८:१२ मा प्रकाशित

अमेरिकाको आइडाहोमा चार जना बिश्वबिद्यालयका विद्यार्थीहरूको निर्मम हत्या गरेको आरोप लागेका ब्रायन कोहबर्गरले अन्ततः आफ्नो अपराध स्वीकार गरेका छन्।

सन् २०२२ मा कलेजका विद्यार्थीहरूलाई उनीहरूकै घरमा हत्या गरेको यो घटनाले पूरै अमेरिकालाई स्तब्ध पारेको थियो। अब उनको मुद्दाको सुनुवाइ सुरु हुनु भन्दा एक महिना अघि नै उनले आफू दोषी रहेको बताएका छन् । यसका लागि उनले एउटा सम्झौता गरेका छन्। यो सम्झौता अनुसार उनलाई मृत्युदण्डको सजाय दिइने छैन।

बुधबार बिहान आइडाहोको बोइजस्थित अदालतमा न्यायाधीश स्टिभन हिप्लरसमक्ष कोहबर्गरले आफूमाथि लागेका सबै पाँचवटा आरोप स्वीकार गरे। ३० वर्षीय कोहबर्गर पहिले अपराधशास्त्रका विधावारिधि (पीएचडी )का विद्यार्थी थिए। उनीमाथि चार जनाको हत्या र एक घरमा चोरी गरेको आरोप लागेको थियो।

सिएनएनले जनाए अनुसा यो घटनापछि लामो समयसम्म कोहबर्गरलाई खोजिएको थियो र पछि उनलाई पक्राउ गरिएको थियो। यो मुद्दामा धेरै उतारचढाव आए, जहाँ उनका वकिलले आरोपहरू खारेज गर्न वा मृत्युदण्डको सजाय हटाउन धेरै पटक प्रयास गरेका थिए।

यो सम्झौता अनुसार कोहबर्गरलाई चोरीको आरोपमा १० वर्षको कैद सजाय हुनेछ। यस्तै, चारवटा हत्याको आरोपमा उनलाई हरेक हत्याका लागि आजीवन कारावासको सजाय तोकिनेछ। यी सबै सजाय एकपछि अर्को गरी लागू हुनेछन्। कोहबर्गरले यो निर्णयविरुद्ध पछि कुनै अपिल नगर्ने वा सजायमा छुट नमाग्ने सहमति पनि जनाएका छन्।

यद्यपि, अझै पनि केही मुख्य प्रश्नहरूको जवाफ अझै रहस्यमय छ । ती विद्यार्थीहरूलाई किन रोजियो? घरमा रहेका अन्य साथीहरूलाई किन छोडियो? र हत्यारा कसरी घरभित्र पस्यो, अपराध गर्यो र हप्तौंसम्म कसरी भाग्न सफल भयो? यी प्रश्नहरूको जवाफ अब पीडित परिवारको भनाइ सुन्ने समयमा आउन सक्नेछ।

प्रतिक्रिया