ट्रम्पको ऐतिहासिक घोषणा: भियतनामसँग ठूलो व्यापार सम्झौता, अमेरिकालाई पूर्ण बजार पहुँच

इनेप्लिज २०८२ असार १८ गते १५:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। उनले यो सम्झौताबाट अमेरिकाले भियतनामी बजारमा “पूर्ण पहुँच” पाउने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे, “भियतनामसँग ठूलो सहकार्यको सम्झौता भएको छ। सम्झौताअनुसार भियतनामले अमेरिका पठाइने सबै सामानमा २०% र पुनःढुवानी (ट्रान्सशिपिङ)मा ४०% शुल्क तिर्नेछ।” यसको बदलामा अमेरिकालाई पहिलोपटक भियतनामको बजारमा पूर्ण पहुँच दिइने उनले स्पष्ट पारे।

ट्रम्पले भियतनामी कम्युनिस्ट दलका महासचिव तो लामसँग व्यक्तिगत रूपमा कुराकानी गरेर सम्झौता गरेको बताए। यसअघि ट्रम्प प्रशासनले स्वतन्त्र दिवस “लिबरेशन डे” घोषणाअन्तर्गत भियतनामी सामानमा ४६% शुल्क लगाएको थियो, जुन अस्थायी रूपमा ९० दिनका लागि स्थगित गरिएको थियो। उक्त अवधी आगामी साता सकिन लागेको हो।

भियतनामी प्रधानमन्त्री फाम मिन चिन्हले जुनको अन्त्यमा अमेरिका र भियतनामबीच सम्झौता नजिक रहेको संकेत गरेका थिए।

तर भियतनामले चीनसँगको सम्बन्ध पनि सन्तुलित राख्नुपर्ने दबाब छ। अमेरिकी अधिकारीहरूले चीनले भियतनामलाई पारवहन देश बनाएर अमेरीकी बजारमा सस्तोमा सामान पठाउने गरेको आरोप लगाउँदै आएका छन्। यो सम्झौताले दुई देशबीच व्यापार सन्तुलन सुधार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया