वाशिङ्टन डिसी । जुलाई २ । अमेरिकी प्रतिनिधि सभाको सदन नियम समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आन्तरिक नीति विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। बुधबार बिहान प्रारम्भमा भएको मतदानमा ७–६ को मतान्तरले यो विधेयक पूर्णसभामा प्रस्तुत गर्ने बाटो खुलेको हो।
करिब १२ घण्टासम्म चलेको बैठकपछि समिति ले नियम स्वीकृत गरेको हो, तर ट्रम्पका आफ्नै रिपब्लिकन सांसदहरू राल्फ नर्मन र चिप रोयले डेमोक्र्याटहरूसँग मिलेर यसविरुद्ध मतदान गरे। उनीहरूले सिनेटले तयार पारेको विधेयकको संस्करणमाथि पहिले नै कडा आलोचना गरेका थिए।
अबको अर्को चुनौती भनेको सम्पूर्ण प्रतिनिधि सभाले यस नियममा मतदान गर्नु हो। यसपछि मात्र विधेयकलाई अन्तिम मतदानका लागि सदनको कार्यसूचीमा राख्न सकिन्छ।
तर केही रिपब्लिकन सांसदहरूले आफ्नै नेतृत्वको विरोधमा नियमको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन्। यदि नियम पारित भएमा, त्यसपछि विधेयकमाथि बहस हुनेछ र अन्ततः मतदान गरिनेछ।
यस क्रममा डेमोक्र्याटहरूले प्रक्रियागत अवरोधहरू खडा गर्न सक्ने सम्भावना पनि देखिएको छ। यो विधेयक ट्रम्पको प्रमुख घरेलु नीति कार्यसूचीमाथी केन्द्रित छ, जसमा कर कटौतीदेखि सामाजिक कार्यक्रमहरूको पुनःसंरचना समावेश छन्।
प्रतिक्रिया