ट्रम्प प्रशासनलाई झट्का: ५ लाखभन्दा बढी हेटी आप्रवासीको संरक्षण रोक्ने निर्णय न्यायाधीशद्वारा अस्वीकृत

इनेप्लिज २०८२ असार १८ गते १२:०७ मा प्रकाशित

एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेटीका ५ लाख २० हजारभन्दा बढी आप्रवासीहरूको अस्थायी सुरक्षा स्थिति(टिपिएस) समाप्त पार्ने प्रयासलाई अस्वीकार गरेका छन्।

हेटी आप्रवासीहरूको टिपिएसअगस्ट ३ मा समाप्त हुने र सेप्टेम्बर २ देखि प्रभावमा आउने तयारी गरिएको थियो। तर ब्रुकलिनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश ब्रायन कोगनले मंगलबार उक्त योजना रोकिदिएका छन्।

उनले अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले टिपिएस पुनरावलोकन गर्ने कानुनी प्रक्रिया र समयसीमा पालना नगरेको ठहर गरे।

न्यायाधीश कोगनले निर्णयमा लेखे, “सचिव नोएमसँग कुनै देशको टिपिएस आंशिक रूपमा खारेज गर्ने कानुनी अधिकार छैन। उनले लिएको कदम गैरकानुनी हो।”

उनले थपे, “मुद्दा दायर गर्नेहरू (हेटी आप्रवासी) कानुनी आधारमा सफल हुने निश्चित छन्।”

कोगनले स्पष्ट रूपमा भने, “हेटी आप्रवासीहरूलाई अमेरिका भित्र बाँच्ने र काम गर्ने अधिकार अमेरिकाको सम्भावित हानिभन्दा धेरै महत्वपूर्ण छ।”

यद्यपि, अदालतले अमेरिकी सरकारलाई आप्रवासन कानून कार्यान्वयन गर्ने र टिपिएस कार्यक्रम अन्त्य गर्न आवश्यक प्रक्रिया पुरा गर्दै अगाडि बढ्न रोक लगाएको छैन।

अस्थायी सुरक्षा स्थिति कार्यक्रम आपतकालीन अवस्थामा अमेरिकी सरकारले विदेशी नागरिकलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न दिने सुविधा हो। हेटीका लागि यो सुविधा पहिलोपटक २०१० मा विनाशकारी भूकम्पपछि दिइएको थियो।

यो फैसला ट्रम्प प्रशासनको आप्रवासन नीतिमा ठूलो झटका मानिएको छ । जसले टिपिएस अन्त्य गर्ने र हजारौंलाई देश निकाला गर्ने प्रयास गरिरहेको थियो।

फक्स न्यूजले गृह सुरक्षा विभागसँग टिप्पणीको लागि सम्पर्क गरे पनि समाचार प्रकाशन समयसम्म जवाफ प्राप्त नभएको जनाएको छ ।

यस फैसलाले अमेरिका भित्र रहेका हेटी आप्रवासीहरूलाई ठूलो राहतदिएको छ, जसले लामो समयदेखि यहाँ काम गर्दै परिवार चलाइरहेका छन्।

प्रतिक्रिया