वासिङ्टन, डीसी— ट्रम्प प्रशासनद्वारा आप्रवासन तथा भन्सार प्रवर्तन निकायसँग व्यक्तिगत स्वास्थ्य तथ्याँक साझा गरेको निर्णयविरुद्ध २० वटा अमेरिकी राज्यहरूले संघीय अदालतमा मुद्दा दायर गरेका छन्।
उनीहरूले स्वास्थ्य तथा मानव सेवा विभागले “गैरनियन्त्रित रूपमा व्यक्तिगत स्वास्थ्य विवरणहरू” गृह सुरक्षा विभाग र त्यसमार्फत आइसिईसँग बाँडेको भन्दै त्यसलाई गोपनीयता कानुनको गम्भीर उल्लंघन ठहर गरेका छन्।
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले मंगलबार जारी गरेको वक्तव्यमा भने, “राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हिप्पा अर्थात् “स्वास्थ्य बीमा सार्न सकिने तथा गोपनीयता संरक्षणसम्बन्धी ऐन”लगायतका संघीय गोपनीयता कानुन उल्लंघन गरेर संवेदनशील तथ्याँक बाहिर पुर्याएको छ।”
उनको भनाईमा, “यस तथ्याँक स्थानान्तरणले लाखौं आप्रवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको छ, जसको कारण धेरैले आवश्यक आपतकालीन स्वास्थ्य सेवाबाट बञ्चित हुने सम्भावना छ।”
एबिसीन्यूजका अनुसार बोन्टाले ट्रम्प प्रशासनको कदमलाई “विदेशी विरोधी अभियानको अर्को प्रहार” भन्दै आलोचना गरे। “हामी अदालत गइरहेका छौँ ताकि मेडिकेड तथ्याँक थप साझा नगरियोस्, र पहिले नै साझा भइसकेको तथ्याँक आप्रवासन नियन्त्रणको लागि प्रयोग नहोस्,” उनले भने।
प्रतिक्रिया