ट्रम्पको कर विधेयक अन्तिम मतदानतर्फ: प्रतिनिधि सभाका रिपब्लिकनहरूको तीव्र दौड

इनेप्लिज २०८२ असार १८ गते १०:०७ मा प्रकाशित

अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन नेताहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च कटौतीसम्बन्धी विधेयकमा बुधबार अन्तिम मतदान गराउने तयारीमा दौडधुप गरि रहेका छन्।

सिनेटमा कडा संघर्षपछि भएको मतदानको लय समात्दै उनीहरूले दलभित्रका आलोचकलाई खुला चुनौती दिएका छन् ।

सिनेटमा ५१–५० को संख्याले विधेयक पारित भएपछि उपराष्ट्रपति जेडी भ्यान्सले निर्णायक मत खसालेर ट्रम्प पक्षको विजय सुनिश्चित गरे। त्यसपछि तल्लो सदनका रिपब्लिकन नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै भने, “अमेरिकी जनताले हामीलाई स्पष्ट जनादेश दिएका छन्। डेमोक्र्याटहरूबाट चार वर्षको विफलता पश्चात्, अब हामी ढिलाइ नगरी परिणाम दिन्छौं।”

ट्रम्पले प्रस्तावित ‘जुलाई ४’ को समयसीमा पूरा गर्न आग्रह गरेपछि रिपब्लिकनहरू तीव्र गतिमा अघि बढेका हुन्। २२०–२१२ को झिनो बहुमत भएकाले केही सांसदको असहमति नै विधेयकलाई असफल बनाउन सक्नेछ।

एपीका अनुसार सिनेटबाट २४ घन्टामै प्रतिनिधिसभामा पारित गराउने तयारीप्रति कतिपय सांसद असन्तुष्ट छन्।

प्रतिस्पर्धात्मक जिल्लाका सांसद मेडीकेडमा गरिएका कटौतीप्रति चिन्तित छन् भने संरक्षणवादी सांसदहरूले विधेयकलाई वित्तीय अनुशासनबाट विचलित भएको भन्दै आलोचना गरिरहेका छन्।

प्रतिक्रिया