अमेरिकी रक्षासचिव पीट हेगसेथले गत बिहीबार पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना पूर्व फक्स न्यूजका सहकर्मी जेनिफर ग्रिफिनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको कुरालाई सबैभन्दा बढी जानाजानी गलत प्रस्तुत गर्ने व्यक्तिभन्दै कडा आलोचना गरे ।
फक्सकी प्रमुख राष्ट्रिय सुरक्षा संवाददाता ग्रिफिनले “म यसमा आपत्ति जनाउँछु” भन्दै इरानको आणविक सुविधामाथि भएको अमेरिकी बमबारीसम्बन्धी आफ्नो समाचारको बचाऊ गरिन ।
राष्ट्रपति ट्रम्पले रक्षासचिवमा नियुक्त गर्नुअघि फक्स न्यूजका कार्यक्रम प्रस्तोता रहेका हेगसेथले संचार माध्यमको बारम्बार आलोचना गरे । सप्ताहन्तको बमबारीको प्रारम्भिक मूल्याङ्कनको समाचारलाई लिएर उनीहरूको देशभक्तिमाथि प्रश्न उठाए ।
पत्रकारहरुले इरानको आणविक कार्यक्रममा कति क्षति भयो भन्ने प्रश्न उठाउदा उनले आक्रोस पोखे । ग्रिफिनमाथिको यो आक्रमण उल्लेखनीय थियो किनभने एक वर्षभन्दा कम अघि उनी र हेगसेथ एउटै संचारगृहमा काम गरेका थिए ।
ग्रिफिनले हेगसेथलाई के अमेरिकाले बमबारी गरेको पहाडी सुरुङ्गमा उच्च समृद्ध युरेनियम भण्डारण गरिएको थियो भन्नेमा कुनै निश्चितता छ किनभने भूउपग्रह तस्वीरहरूले दुई दिन अगाडि त्यहाँ एक दर्जनभन्दा बढी मालवाहक गाडीहरु देखिएका थिए भन्ने प्रश्न गरेकी थिइन् । हेगसेथले जवाफ दिए , “अवश्य पनि, हामी हरेक पक्षलाई हेरिरहेका छौं। तर, जेनिफर, तपाईले राष्ट्रपतिले भनेको कुरालाई सबैभन्दा बढी जानाजानी गलत प्रस्तुत गर्नुभएको छ।”
हेगसेथको भनाइमा फक्स व्यवस्थापनको तत्काल कुनै टिप्पणी आएको छैन ।
ह्वाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले बिहीबार प्रशासनले गुप्तचर निकायको प्रतिलिपि चुहावट गर्ने जिम्मेवार व्यक्तिहरूको अनुसन्धान गरिरहेको बताइन । यो समाचार विवरणले ट्रम्पलाई क्रोधित तुल्याएको थियो किनभने प्रतिवेदनको प्रारम्भिक निष्कर्षहरूले इरानको आणविक कार्यक्रमको “पूर्ण विनाश” भएको ट्रम्पको भनाइको खण्डन गरेको थियो।
प्रतिक्रिया