जनकपुरधाम । देशको बदलिँदो राजनीतिक सन्दर्भमा संघीय गणतान्त्रिक गठबन्धनको एक विशेष बैठक सम्पन्न भएको छ ।
गठबन्धनका संयोजक नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा गठबन्धनमा आबद्ध बहुजन एकता पार्टीको अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीको अध्यक्ष धुपलाल निशादड ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्री ठाकुर, मधेश प्रदेशका पूर्वगृह कानुन तथा सञ्चारमन्त्री प्रदेश सभा सदस्य बिमला अन्सारी लगायत सबै शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागी नेताहरूले देशको वर्तमान अवस्था, संविधानको कार्यान्वयन, न्याय र सुशासनको अभाव, तथा बढ्दो भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गरे । नेताहरूले ठोस शब्दमा भने, “नेपालको उत्पीडित जनता जसरी चाहन्थे, त्यस्तो संविधान बन्न सकेको छैन। देशमा सुशासन छैन, न्याय छैन, र जनताले अधिकारको अनुभूति गर्न पाएका छैनन् ।”
बैठकले निष्कर्ष निकालेको छ कि देश अहिले पनि भ्रष्टाचार, सामाजिक अन्याय, वर्गीय विभेद, र पहिचानको अपमानबाट ग्रस्त छ । यस्तो अवस्थामा मुलुकलाई सही दिशामा लैजानका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भइसकेको गठबन्धनको ठहर छ ।
‘संयुक्त जनजागरण अभियान’ देशभर सञ्चालन हुने
बैठकले देशभर व्यापक जनसंवादमार्फत जनता समक्ष पुग्ने निर्णय गर्दै ‘संयुक्त जनजागरण अभियान’ घोषणा गरेको छ। अभियान अन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय भेला, अन्तरक्रिया तथा संगठन विस्तार गरिनेछ।
साथै, बैठकले देशभित्रका सम्पूर्ण प्रगतिशील, अग्रगामी, सामाजिक न्यायप्रेमी, पहिचानवादी वर्गीय उत्पीडनविरुद्ध लड्ने शक्तिहरूलाई संघीय गणतान्त्रिक गठबन्धनमा आवद्ध हुन खुला आह्वान गरेको छ।
पाँच सदस्यीय वार्ता समिति गठन
गठबन्धनलाई विस्तारित गर्दै नयाँ शक्तिहरूलाई समावेश गर्नका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। उक्त समितिले विभिन्न दल, संगठन तथा स्वतन्त्र समूहहरूसँग संवाद गरी गठबन्धनलाई बलियो र फराकिलो बनाउने कार्य गर्नेछ।
महत्वपूर्ण निर्णय र कार्यक्रमहरूः
बैठकले विशेषरूपमा निम्न निर्णयहरू पारित गरेको छः
१. संयुक्त जनजागरण अभियान तथा संगठन विस्तारः
गठबन्धनले आगामी ६ महिनाभित्र सातै प्रदेश र ७७ जिल्लामा संगठन विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि संयोजन समितिको गठनसहित जिल्ला तथा प्रदेशस्तरीय कमिटीहरू गठन गरिनेछ।
२. कार्यक्रम तालिकाः
मिति स्थान कार्यक्रम
असार २१ सर्लाही जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
असार २५ महोत्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
असार २९ रौतहट जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण ०१ बारा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण ०३ वीरगंज जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १० सिरहा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १२ सप्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १३ सुनसरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १५ मोरंग जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १७ झापा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १९ विराटनगर कोसी प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन
श्रावण २६ धनुषा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण २९ जनकपुर मधेस प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन
गठबन्धनको अडानः न्याय, पहिचान, समानता र समावेशीताको लडाइँ
गठबन्धनले देशमा कायम असमानता, उत्पीडन, र पहिचानविहीन राजनीतिक संरचनालाई अन्त्य गर्न निर्णायक आन्दोलनको आवश्यकता औंल्याएको छ। नेताहरूले भने, “हामी संविधानमा जनताको भावना अनुसार संशोधन, न्यायपूर्ण समाज निर्माण, सुशासनको प्रत्याभूति र स्थायी शान्तिको स्थापना, समृद्ध नेपालको निर्माण, शोषित र उत्पीडित जनताको राज्य सत्ताको स्थापना को आधार तयार गर्न दृढप्रतिज्ञ छौं।”
प्रतिक्रिया