इरानी विदेशमन्त्री अब्बास अरागचीले तेहरानले इजरायली आक्रमण रोकिए मात्र आफ्ना सैन्य प्रतिघातहरू रोक्ने स्पष्ट सन्देश दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच युद्धविरामको घोषणा गरेपछि इरानको यो पहिलो औपचारिक प्रतिक्रिया हो।
अरागचीले तेहरान समय अनुसार बिहान ४:१६ बजे सामाजिक सञ्जाल ‘एक्स’ मा प्रकाशन गर्दै लेखे, “हालसम्म कुनै पनि युद्धविराम सम्झौता वा सैन्य कारबाही रोक्ने सहमति भएको छैन।” उनले थप भने, “यदि इजरायली शासनले तेहरान समय अनुसार बिहान ४ बजे भित्र आक्रामण बन्द गर्यो भने त्यसपछिका कारबाहीहरू हामीले नगर्ने निर्णयमा छौं।”
एपीका अनुसार यस घोषणा अघि इजरायली वायु सेनाले तेहरान र वरपरका क्षेत्रमा तीव्र हवाई आक्रमणहरू गरिरहेको थियो। विगतका युद्धहरूमा जस्तै, इजरायलले युद्धविराम लागू हुने समयभन्दा केहीअघि आक्रमणहरूलाई तीव्र बनाएको देखिएको छ।
इरानको विदेशमन्त्री अरागचीले आफ्ना सैनिकहरूलाई धन्यवाद दिंदै लेखे, “सारा इरानी जनताको तर्फबाट, म हाम्रो साहसी सशस्त्र सेनालाई धन्यवाद दिन्छु, जसले अन्तिम क्षणसम्म मातृभूमिको रक्षामा वीरता प्रदर्शन गरे।”
एसोसिएट्स प्रेसका अनुसार बिहान ४ बजे देखि तेहरानमा इजरायली आक्रमणबारे कुनै नयाँ समाचार सार्वजनिक भएको छैन् ।
यो अवस्थाले ट्रम्पद्वारा घोषित युद्धविरामलाई प्राविधिक रूप दिन सक्ने सम्भावना देखिएको छ, यद्यपि इजरायली पक्ष भने मौन आदेशको कारण अझै सार्वजनिक रूपमा मौन रहेको छ ।
यदि इजरायली आक्रमणहरू रोकिए भने इरान पनि सैन्य कारबाही रोकिने पक्षमा रहेको इरानी नेतृत्वको यो स्पष्ट र कूटनीतिक सन्देश हो। आगामी केही घण्टाहरूमा युद्धविरामको भविष्य तय हुने देखिन्छ।
प्रतिक्रिया