ट्रम्पद्वारा युद्धबिरामको घोषणा पश्च्यात तेहरानमा इजरायली भीषण आक्रमण, नेतन्याहु ‘ग्याग अर्डर’ (मौन आदेश)मा

इनेप्लिज २०८२ असार १० गते १:१० मा प्रकाशित

इरानी राजधानी तेहरानमा इजरायलले मंगलबार बिहानै विभिन्न स्थानमा आक्रमण गरेको इरानको सरकारी निकट तास्निम समाचार निकाय (एजेन्सी)ले जनाएको छ। इजरायली सेनाले मेहरान र जिल्ला ६ मा सैन्य कारवाही गर्ने चेतावनी दिइसकेको थियो । जिल्ला ७ का नागरिकहरूलाई खाली गर्न पनि आग्रह गरिएको थियो।

यो सैन्य गतिविधिपछि इजरायलले युद्धविराममा सहमत हुने शर्तसहित इरानसँग सम्झौता गरेको अमेरिकी ह्वाइट हाउसका उच्च अधिकारीले सीएनएनलाई बताएका छन्। शर्त अनुसार इरानले इजरायली भूमिमा आक्रमण रोक्न सहमति जनाएको बताइएको छ।

यस सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रत्यक्ष रूपमा इजरायली प्रधानमन्त्री नेतन्याहुसँग सम्पर्कमा थिए। उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो र विशेष दूत स्टिभ विटकोफले इरानी पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष वार्ता गरेका थिए।

ह्वाइट हाउसले यो सम्झौता अमेरिकी सैन्य कारबाहीको फल भएको बताएको छ । शनिबार तीनवटा इरानी आणविक स्थलहरूमा आक्रमणपछि मात्र इरान वार्तामा तयार भएको दाबी गरिएको हो।

तर इजरायल सरकारको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। अल-जजिराको समाचार अनुसार नेतन्याहु र उनका मन्त्रीहरूलाई युद्धविरामबारे सार्वजनिक रूपमा बोल्न ‘ग्याग अर्डर’ मौन आदेश जारी गरिएको छ।

तेहरानमा समेत शृंखलाबद्ध विस्फोटहरू भएका छन्। विस्फोटअघि इरानले राजधानीमाथि उडिरहेको इजरायली ‘हर्मेस’ मानव रहित यान (ड्रोन )खसालेको जनाएको छ। मेहर, तास्निम र फार्स समाचार निकायहरूले घटनास्थलको जलेको भग्नावशेषसहितको तस्बिर प्रकाशित गरेका छन्।

प्रतिक्रिया