काठमाडौं । दशौं संस्करणको कर्मालय प्रोजेक्ट प्रतिष्पर्धाको उपाधि नेपाल इन्जिनियरिङ कलेजको अर्बन फाइण्डरले प्राप्त गरेको छ । ‘विचारदेखि प्रभावसम्म’ भन्ने मुख्य विषयवस्तुका साथ ‘परिवर्तनका लागि नवप्रवर्तन’ भन्ने नारासहित आयोजित प्रतिष्पर्धामा आयुष श्रेष्ठ र अभिषेक श्रेष्ठले तयार पारेको अर्बन फाइण्डर प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो । उनीहरुले कोठा खोज्ने अवधारणा तयार गरेका थिए ।
यस्तै प्रतियोगितामा सुलभ तिमल्सिना र आदित्य मल्लको बायोचारले दोश्रो स्थान हासिल गर्यो । उनीहरुले कोइलाको ब्रिकेट बनाउने प्रोजेक्ट तयार पारेका थिए । प्रतियोगिताको बेस्ट आइडिया सुवास चौधरी, नरेन्द कुमार चौधरी र शान्तिराज लामाको प्याड भेन्डिङ मेसिन भयो । उत्कृष्ट पीच गेस्टर स्पीकले प्राप्त गर्यो ।
विजेता अर्बन फाइन्डरले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाउँदा बायोचारले नगद ५ हजारसहित उपविजेताको ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । एक महिना लामो कार्यक्रम अवधिभर सहभागीहरूलाई सार्वजनिक वक्तृत्वकला, प्रस्तुति सीप, व्यवसाय मोडेल विकास, विश्लेषणात्मक तालिम, वित्तीय योजनाका पक्षहरूमा तालिम दिइएको थियो । कार्यक्रमले सिर्जनात्मक सोचलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक स्रोत, सहयोग र तालिम प्रदान गरेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री थापा मगरले विकासको अग्रपथमा लम्किइरहेको नेपाललाई अगाडी बढाउन प्राविधिक युवा जनशक्तिको महत्वपूर्ण योगदान रहने बताउनु भयो । युवा जनशक्तिमा रहेको ज्ञान, सीप र क्षमतालाई सदुपयोग गर्दै नेपालको विकास गरिनुपर्ने भन्दै मन्त्री थापा मगरले भन्नुभयो,‘लोकतन्त्र स्थापना पछि हाम्रो देश विकासको पथमा लम्किइरहेको छ । अब देश बनाउनको लागि तपाईहरु जस्तो युवा जनशक्ति अगाडी आउनुपर्छ ।’ गणतन्त्र आइसकेपछि र देश संघीयतामा गइसकेपछि विकास निर्माणका क्रमहरु अगाडी बढेको दावी गर्दै मन्त्री थापा मगरले संविधानमा उल्लेख भएका तीनै तहका सरकारले मुलुकको विकासमा काम गरिरहेको जिकीर गर्नुभयो ।
संघीयता अनुसार मुलुकमा भेटिने, देखिने र लेखिने सरकारहरु भएकाले मुलुकको विकासमा तीनै तहको सरकारले प्रभावकारी काम गरिरहेको दावी मन्त्री थापा मगरको छ । ‘भेटिने सरकार भनेको स्थानीय तह हो जसले स्थानीय जनताको पीर मर्कालाई संवोधन गर्छ, देखिने सरकार भनेको प्रदेश सरकार हो, यसले विकासका पूर्वाधार निर्माण गर्छ, अर्को लेखिने सरकार संघ सरकारले ऐन, कानुन निर्माण गर्दछ । यी तीनै सरकार मिलेर देशमा विकास भइरहेको छ ।’ यद्यपि, मुलुकमा जति विकास हुनुपर्ने त्यो नभइरहेको स्वीकार गर्दै मन्त्री थापा मगरले युवाहरु सामाजिक सञ्जालमा नकारात्मक सन्देश प्रवाह गर्नुको सट्टा भएका सकारात्मक कुराहरु फैलाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले युवाहरुले देश विकास सँगै सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणको भूमिकामा उभिनु पर्ने बताउनु भयो । देशमा केही भएन भन्दै निराश हुनुभन्दा पनि राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा मुलुकमै बसेर योगदान पुर्याउनु पर्ने मेयर खत्रीले जिकीर गर्नुभयो ।
नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अध्यक्ष समेत रहनु भएका मेयर खत्रीले नेपालको इन्जिनियरिङ शिक्षाको योगदानमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै दक्ष जनशक्ति उत्पादन गर्न र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज तत्पर रहेको बताउनु भयो । नेकबाट उत्पादित दक्ष जनशक्तिले नेपालको विकास र समृद्धिको यात्रासँगै विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने दावी गर्दै विश्वमा भएका विकासका पूर्वाधार आफ्नै देशमा बनाउन सक्षम रहेको बताउनु भयो । ‘हामीले हाम्रै देशमा ती अवसर बनाउन सक्छौ । हाम्रो देश बनाउनका लागि तपाई हामी सामूहिक तथा निस्वार्थ रुपले अगाडी आउनु पर्दछ । राजनीतिबाट टाढा रहेर देश बन्दैन । देश तपाई हामीले नै बनाउनुपर्छ ।’ मेयर खत्रीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीमा रहेका अन्तरनिहित प्रतिभाहरुलाई बाहिर ल्याउन कलेजले सदैव साथ दिने बताउनु भयो । कार्यक्रमले विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई अगाडी बढाउन टेवा पुगेको उहाँको भनाई थियो । इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट कलेज रहेको प्राचार्य भण्डारीले जिकीर गर्नुभयो ।
सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्टको अध्यक्ष गगन सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का सदस्य पोषण थापाको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया