टेक्ससको फोर्ट वर्थ नगरको लागि नेपाली मूलका मोहन ज्ञवाली भवन मापदण्ड आयुक्तमा नियुक्त

इनेप्लिज २०८२ असार १ गते २२:५४ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थ शहरको भवन मापदण्ड आयुक्तमा नेपाली मूलका मोहन ज्ञवाली नियुक्त भएका छन्। 

हालै सम्पन्न फोर्ट वर्थ नगर परिसद(सिटी काउन्सिल)को बैठकमा उनको नियुक्ति औपचारिक रूपमा स्वीकृत गरिएको हो।

मोहन ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो नियुक्तिको जानकारी दिँदै लेखेका छन्,

“म फोर्ट वर्थ शहरको  सेवा गर्न ‘विल्डिग स्टान्डर्ड कमिसन’ को रूपमा नियुक्त भएकोमा सम्मानित महसुस गरिरहेको छु। म यो भूमिकामा फोर्ट वर्थ नगर परिषद सदस्य माननीय डेबोराह पिपल्स, नगर प्रमुख म्याटी पार्कर र निर्वाचित शहरका अधिकारीहरूसँग सहकार्य गर्दै योगदान दिनेछु।”

उनले शहरको विकास र मापदण्डको पालनामा आफ्नो अनुभव र ज्ञान प्रयोग गर्दै फोर्ट वर्थलाई अझ सुन्दर शहर बनाउने संकल्प पनि व्यक्त गरेका छन्।

ज्ञवालीको यो नियुक्ति प्रवासी नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। टेक्ससमा बसोबास गर्ने नेपालीहरूले सामाजिक सञ्जालमार्फत उनलाई बधाइ र शुभकामना व्यक्त गरिरहेका छन् ।

उनि पहिले न्यूयोर्कमा बसोबास गर्थे भने केही बर्ष अगाडी टेक्सस बसाई सराई गरेका हुन्।

उनि न्यूयोर्कमा पनि त्यतिकै सक्रिय थिए भने टेक्ससमा पनि समाज सेवामा निरन्तर रुपमा सेवा पुर्याई रहेका छन् ।

इनेप्लिजको तर्फबाट बधाई !  

प्रतिक्रिया