मेक्सिकोको दक्षिणी चियापास राज्यमा आइतवार भएको सशस्त्र झडपमा प्रहरीले चार जना संदिग्ध अपराधीहरूलाई मारेको छ।
ग्वाटेमालासँगको सिमाना नजिकैको फ्रोन्तेरा कोमालापा नगरपालिकामा नियमित गस्तीका क्रममा सुरक्षाकर्मीहरू माथि आक्रमण भएपछि भिडन्त भएको स्थानीय सुरक्षा मन्त्रालयले जनाएको छ।
“सुरक्षाकर्मीहरूले जवाफी कारवाही गरे र सङ्गठित अपराध समूहका चार सदस्यलाई मार्न सफल भए,” मन्त्रालयको वक्तव्यमा भनिएको छ। घटनास्थलबाट चार वटा माल बाहकगाडी , तीनवटा एके -४७ र अन्य हतियारहरू बरामद गरिएको छ।
एएफपीलाई नाम गोप्य राख्ने सर्तमा बोलेका स्रोतका अनुसार मारिएका व्यक्ति शक्तिशाली “जालिस्को न्यू जेनेरेसन कार्टेल” का सदस्य थिए।
स्थानीय सञ्चार माध्यमहरूले केही सुरक्षा अधिकारीहरू सिमा पार गर्दै ग्वाटेमालाको भूमिमा पसेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
ग्वाटेमालाका उपराष्ट्रपति करिन हेरेराले सामाजिक सञ्जालमा “सिमा नियन्त्रणमा रहेको” र “सैनिक तथा प्रहरीहरू सुरक्षाका लागि सक्रिय रूपमा उपस्थित रहेको” उल्लेख गरे।
यो भिडन्त केही दिनअघि सोही क्षेत्रमा भएको प्रहरी माथि भएको आक्रमण पछिको कारवाही हो, जहाँ सशस्त्र समूहले पाँच चियापास राज्य प्रहरीहरूलाई हत्या गरेका थिए।
उनीहरूको गस्ती सवारीमा आगो लगाइएको थियो, जसको तस्वीर पनि सार्वजनिक गरिएको छ। पछि एक संदिग्धलाई पक्राउ गरिएको पनि पुष्टि गरिएको छ।
हाल चियापास क्षेत्रमा सिनालोआ र जालिस्को अपराधी गिरोह बीचको हिंसात्मक वर्चस्व युद्ध चुलिँदै गएको छ।
प्रतिक्रिया