प्रेस युनियन काठमाडौँ शाखाद्वारा स्वास्थ्य शिविर सम्पन्न

इनेप्लिज २०८२ जेठ २० गते १०:१८ मा प्रकाशित

काठमाडौँ ।

नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर युनियनको काठमाडौँ शाखाले एकदिने स्वास्थ्य शिविरको आयोजना गरेको छ । आज यहाँ अनामनगरमा रहेको सामाजिक विकास भवनमा सम्पन्न स्वास्थ्य शिविरमा स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताए ।

मन्त्री पौडेलले भने,‘केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।’

स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताए । उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताए ।

सम्पन्न स्वास्थ्य शिविरमा चार सय २५ जना पत्रकारले स्वास्थ्य परिक्षण गराएको काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले जानकारी दिए ।

उनले भने,‘हामीले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । सधै कार्यस्थलमै खटिनुभएका पत्रकारले आज कामसँगै आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन पाउनुभयो । यो शिविरले कामसँगै स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भन्ने सबैलाई संदेश दिएको छ ।’

स्वास्थ्य शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परिक्षण, तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबाट आँखाको जाँच, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकबाट महिलाको पाठेघर र स्तन क्यान्सरको परिक्षण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विशेषज्ञ चिकित्सकबाट मृगौला र मदुमेह जाँच, चिरायु डेन्ट केयरका विशेषज्ञ चिकित्सकबाट दन्त परिक्षण गरिएको थियो ।

उक्त स्वास्थ्य शिविर सम्पन्न गर्न ‘लाज शरणम’ का निर्माता नवीन श्रेष्ठ, ‘जेरी अन टप’ का निर्माता सरोज न्यौपानेले सहयोग गरेका थिए । फिल्म निर्माता श्रेष्ठले पत्रकारको स्वास्थ्य प्राथमिकतामा रहनु पर्नेमा जोड दिदै यस्ता शिविर भइरहनु पर्ने धारणा व्यक्त गरे ।

‘सधै अरुको खबर सम्प्रेषण गर्न व्यस्त रहने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरिएको स्वास्थ्य शिविरलाई सम्पन्न गर्न हामी सबैले सहकार्य गर्नुपर्छ । यसबाट दिनहु काममै व्यस्त रहने पत्रकारले लाभान्वित भएका छन्, यो प्रेरणादायी कार्य हो’, निर्माता श्रेष्ठले भने ।

उनी निर्देशक वसन्त श्रेष्ठ र लेखक सुशील पौडेललाई लिएर नयाँ फिल्म ‘पाँच पाण्डव’ को निर्माणमा जुटेका छन् ।

उक्त फिल्ममा ‘वडा नम्बर ६’ पश्चात दीपकराज गिरी, केदार घिमिरे, सिताराम कट्टेल र जीतु नेपाल एकसाथ देखिदैछन् । उक्त शिविर विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया