कञ्चनपुर – जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका समुदायहरूलाई सशक्त बनाउन कञ्चनपुरमा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजनाको आयोजनामा यो तालिम सञ्चालन गरिएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा बढी वर्षा र उच्च तापक्रमको पूर्वानुमान गरेको सन्दर्भमा बाढी, डुबान र गर्मी लहरजस्ता प्राकृतिक जोखिमहरू बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्ता तालिमहरूको आयोजना गरिएको छ।
तालिमको उद्घाटनमा एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले विपद्का बेला समयमै प्राथमिक उपचार प्रदान गर्न सकिए धेरैको ज्यान जोगाउन सकिने बताउनुभयो। उहाँले समुदायमा यस्ता सीपको विकासले दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने र स्थानीय स्तरमा प्रतिकार्य क्षमता विस्तार गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो।
सीआरसी परियोजनाका संयोजक महेश घिमिरेले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सक्षम बनाउन विभिन्न तालिमहरू सञ्चालन भइरहेको जानकारी दिँदै प्राथमिक उपचार तालिमले विपद् व्यवस्थापनमा सीप विकास गर्नुका साथै मानवीय क्षति न्यूनिकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख मनोज उप्रेतीले तालिममार्फत सहभागीहरूले विपद्का बेला तत्काल प्राथमिक सहयोग प्रदान गर्ने क्षमता विकास गर्ने बताउनुभयो। उहाँले व्यवहारिक अभ्यासले सिकाइलाई प्रभावकारी बनाउने र यस्ता सीपहरू दैनिक जीवनमा समेत उपयोगी हुने धारणा राख्नुभयो।
तालिममा सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत सीप, घाइतेहरूको प्रारम्भिक उपचार, र आपतकालीन अवस्थामा प्रतिकार्य गर्ने तरिकाबारे प्रशिक्षण दिइनेछ। सीआरसी परियोजनाले यसअघि पूर्वसूचना कार्यदल र खोज तथा उद्धार कार्यदललाई तालिम प्रदान गरिसकेको छ। यो तालिमले स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया