अमेरिकाको न्यूयोर्क सिटीको ऐतिहासिक म्यानहाटन क्षेत्रको मुख्य सडकमा, नेपाली झन्डा फहराइरहेका थिए, ढोल बजिरहेका थिए, र नेपाली संस्कृतिको रङमा रंगिएका देखिन्थे। नेपाल डे परेड २०२५, नेपाली संस्कृति, कला, संगीत, र पर्यटनको बहुआयामिक झिल्को प्रस्तुत गर्दै सम्पन्न भयो। यो परेडले न केवल प्रवासी नेपालीहरूलाई एकताको भावनामा बाँध्यो, तर विदेशी दर्शकहरू—विशेष गरी अमेरिकी र युरोपेली समुदाय—लाई नेपालको विविधता र सौन्दर्यप्रति आकर्षित गर्यो।
यस वर्षको परेडमा कथा वाचक साइ ग्रेस पोखरेलदेखि लिएर नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुहाना थापासम्मको सहभागिता विशेष आकर्षण बन्यो। उनीहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाउनुका साथै नेपाली कला र चलचित्रको अन्तर्राष्ट्रिय परिचयमा नयाँ आयाम थप्यो।
पर्यटन प्रवर्द्धनको दृष्टिकोणले महत्वपूर्ण नेपाल डे परेडको मूल लक्ष्य भनेकै नेपाल भ्रमणलाई प्रोत्साहन गर्नु हो। पोखरा, लुम्बिनी, र सगरमाथाजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको झाँकीहरू प्रस्तुत गरिएका थिए। यिनले नेपालमा रहेको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको जीवित प्रस्तुति गरे। Visit Nepal, Explore the Himalayas, Pokhara for Peace – जस्ता सन्देश बोकेको पोस्टर र नाराहरूले दर्शकहरूलाई नेपाल भ्रमणको लागि निम्तो दिए।
परेडमा शेर्पा, राई, गुरुङ, मगर, थारू लगायत विभिन्न जातीय समुदायका प्रतिनिधिहरूले आफ्ना परम्परागत नृत्य, पोशाक र संस्कृतिको प्रदर्शन गरे। यसले नेपालभित्रको सांस्कृतिक विविधता देखाउनुका साथै पर्यटकहरूलाई ती क्षेत्रहरूमा जान प्रेरित गर्यो।
नेपाली डायस्पोराको भूमिकामा गर्व
विदेशमा रहेका नेपालीहरू, विशेषतः अमेरिकामा बसोबास गर्ने नेपाली डायस्पोराले नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा साँचिकै सांस्कृतिक दूतको भूमिका निर्वाह गरेका छन्। उनीहरूले परेडमा देखाएको सक्रियता, एकता र उत्साहले नेपाली पहिचानलाई बलियो बनाउने मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय छवि उजागर गर्ने कार्यमा ठोस योगदान दिएको छ।
सीधा उडानको खाँचो र ५० राज्यमा कार्यक्रमको आवश्यकतानेपाल अमेरिका यात्रा सहज छैन। नेपाल र अमेरिका बीच प्रत्यक्ष उडान नहुनु मुख्य चुनौती हो। धेरै अमेरिकी नागरिकहरूले नेपाल जान चाहन्छन्, तर लामो ट्रान्जिट, जटिल मार्ग र समयको अभावले गर्दा उनीहरू हिचकिचाउँछन्।
अब नेपाल सरकार र सम्बन्धित निकायहरूले प्रत्यक्ष हवाई सेवा सुरु गर्न पहल गर्नु अत्यावश्यक भइसकेको छ। साथै, नेपाल डे परेडजस्ता कार्यक्रमहरू अमेरिकाका ५० वटै राज्यहरूमा आयोजना गरिनु पर्दछ। यस्ता कार्यक्रमहरूले नेपालको पर्यटनलाई व्यापक बनाउँछन्, नेपाली संस्कृतिलाई प्रचार गर्छन्, र नयाँ पुस्तामा नेपालप्रतिको जिज्ञासा जागृत गराउँछन्।
नेपाल डे परेड २०२५ मेरो जीवनको अविस्मरणीय अनुभव बन्यो। यो केवल सांस्कृतिक कार्यक्रम मात्र थिएन—यो एक सन्देश थियो, नेपाल हेर्नुहोस्, नेपाल चिन्नुहोस्, र नेपाल अनुभव गर्नुहोस् भन्ने। यो परेडले अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई गर्वित बनायो र विदेशीहरूलाई नेपाल जान प्रेरित गर्यो।
नेपाल टाढा भए पनि, मनको धेरै नजिक छ। अब हामी सबै मिलेर भन्न सक्छौं—नेपाल एक पटक हेर्नैपर्ने देश हो।
सीधा उडान सुरु गरौं, र नेपाली पर्यटन र संस्कृति विश्वभर पुर्याऔं।
प्रतिक्रिया