अमेरिकाको मेरिल्याण्डस्थित एउटा अपार्टमेन्ट(आवासीय भवन)को १५औँ तलाबाट खसेका २ वर्षीय बालक झाडी र सुख्खा पात र घाँसपातको तहमा खस्दा बाँचेका छन्। अधिकारीहरूका अनुसार यो घटना गत बिहीबार दिउँसो भएको हो।
मोन्टगोमेरी काउन्टी प्रहरीका प्रवक्ता शिएरा गफले बताएअनुसार बालक आवासीय भवन (अपार्टमेन्ट)को निजी बार्दली (बाल्कनी)बाट खसेका थिए, जहाँ बार नभइ सुरक्षात्मक सिसा जडान गरिएको थियो। घटना हुँदा घरमा वयस्कहरू पनि उपस्थित थिए।
मोन्टगोमेरी काउन्टी अग्नी नियन्त्रण तथा उद्धार सेवाका अनुसार बालक गम्भीर रूपमा घाइते भएका छन् । अभिभावकको साथमा अस्पताल लगिएको हो।
“बालक झाडीमा खसेर सुख्खा पात र घाँसपातको तहमा (मल्च)मा अड्किएका थिए, जसले आघातलाई कम गर्यो,” सहायक प्रमुख डेभिड पाजोसले बताए, “यो साँच्चै चमत्कार हो।”
प्रहरी प्रवक्ताका अनुसार, “उनको उमेर, तौल र आकारले पनि उनलाई बचाउन मद्दत गर्यो। यदि उनी ठूलो तौलका हुन्थे भने सायद जीवित रहन सक्दैनथे।”
एक स्थानीय आमाले भने, “मैले सुन्दा डरले काँपें। सोचें, यदि त्यो मेरो छोरी भएको भए म के गर्थें ?” प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ। एबिसीन्यूजका अनुसार बालकको अहिलेको अवस्थाबारे अझै स्पष्ट विवरण आएको छैन।
प्रतिक्रिया