रुसको निर्दयी आक्रमण: युक्रेनमा यात्रुयानमा आक्रमण ,९ जनाको मृत्यु

इनेप्लिज २०८२ जेठ ४ गते ९:२० मा प्रकाशित

उत्तरी–पूर्वी युक्रेनको सुमी क्षेत्रमा रुसले गरेको एक भीषण मानव रहित यानआक्रमणमा एक यात्रु सानो यात्रीयान (मिनीबस )लक्षित बनाइँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। शनिबार बिहान बेलोपिलिया भन्ने स्थानमा भएको यो हमलामा अरू ७ जना घाइते भएका छन्।

क्षेत्रीय सैन्य प्रमुखहरूका अनुसार उक्त गाडी सुमीबाट क्षेत्रीय राजधानीतर्फ जाँदै थियो, जुन स्थान रुसको सीमाबाट नजिकै पर्छ। प्रारम्भिक विवरण अनुसार रुसले ‘लान्सेट’ नामक घातक मानव रहित यान (ड्रोन )प्रयोग गरेर ६:१७ बजे स्थानीय समय (०३:१७ जिएमटि ) मा आक्रमण गरेको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हमलालाई “सर्वसाधारणको जानीजानी हत्या” भन्दै तीव्र आलोचना गरेका छन्। उनले भने, “रुसी सेनाले कुन सवारीसाधन हो भन्ने स्पष्ट बुझ्ने अवस्था थियो।”

रुसले प्रत्यक्ष टिप्पणी नगरे पनि राज्य सञ्चालित संचार माध्यमले सुमीमा “सैन्य जमघट क्षेत्र” मा प्रहार गरिएको दाबी गरेको छ।

यो घटनाक्रम युक्रेन र रुसबीच २०२२ पछि पहिलो पटक टर्कीको इस्तानबुलमा भएको प्रत्यक्ष वार्ताको केही घण्टामै भएको हो। बिबिसीका अनुसार यद्यपि वार्तामा ठोस सहमति हुन नसके पनि दुबै देशले १,००० कैदीहरू साटासाट गर्ने सहमति गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “जबसम्म म र पुटिन प्रत्यक्ष भेट्दैनौँ, केही हुनेवाला छैन।” उनले यो भनाइ मध्यपूर्व भ्रमणका क्रममा पत्रकारहरूसँग राष्ट्रपति बिशेष बिमान (एयर फोर्स वन)मा भनेका थिए।

यसैबीच, युक्रेनी मानव रहित यान (ड्रोन)ले शनिबार रुसद्वारा २०१४ मा कब्जा गरिएको क्राइमियाको एउटा हातहतियार गोदाममा प्रहार गरेको र त्यो विस्फोटनबाट सैन्य उपकरण, हतियार र इन्धन भएका गोदामहरू नष्ट भएको रोयटर्सले जनाएको छ।

प्रतिक्रिया