वैशाख २९ दिपक बराम न्युरोड, पोखरा । लेखक डा. खगराज बरालको उपन्यास प्रतिरूप माथि पोखरामा २०८२/०१/२९ गते सोमबार पुछारसिटे अभियान पोखराले हिमालयन रिडर्स कर्नरमा कृतिमाथिको परिचर्चा कार्यक्रम आयोजना गर्यो । वसन्त विनोदले अध्यक्षता गरेको उक्त कार्यक्रममा लेखक खगराज बराल, प्रा. डा. रामनाथ ओझा, लेखकका पिता शोभाकर बराल, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, लेखक रवीन्द्र माकाजु, प्राध्यापक कालिदास शर्मा तिमिल्सिना, भेषराज बराल, ज्योतिष चन्द्रकान्त पौडेल, कवि गोविन्द बराल, खेमराज सापकोटालगायत पोखरामा साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको उद्घोषक अमृत क्षत्रीले लेखक बरालको परिचय दिदैँ गैह्रआख्यानमा कलम चलाउने बरालको प्रतिरूप दोस्रो उपन्यास भएको जानकारी दिए। यसअघि उनले स्यानी उपन्यास प्रकाशित गरिसकेको र हालसम्म बरालका २३ वटा कृति प्रकाशित भैसकेका पनि कार्यक्रमका सञ्चालक क्षत्रीले बताए ।
कार्यक्रमको सुरुवातमा उपस्थित सबैलाई स्वागत गर्दै साहित्यकार सुरज उपाध्यायले लेखक बरालको साहित्यिक व्यक्तित्वको साङ्गोपाङ्गो परिचय दिएका थिए । पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले बरालको नयाँ उपन्यासको समीक्षा गर्दै लेखकले कौतुहूलता जगाउने र पढ्दै जाँदा उपन्यास आफैंले पढाउने गरेको टिप्पणी गरे।साङ्ग्रिला प्रकाशनद्वारा प्रकाशित उपन्यास प्रतिरूप २ सय ३८ पृष्ठको भएको र यसले स्वदेशको तराई र पहाड र परदेशको मेघालय र असमको परिवेशलाई जीवन्त उतार्ने प्रयास गरेको उनले बताए । उनले उपन्यास प्रतिरूप लाई यथार्थवादी धाराको मध्यम किसिमको उत्कृष्ट उपन्यास रहेको र लेखकको चातुर्याइका कारण यसको ओझ र आकर्षण अझै बढेको उल्लेख गरे ।
जन्म दिने बाबु र कर्म दिने बाबुको उपन्यासको भएको विषयवस्तुको सन्दर्भ उल्लेख गर्दै भारतको मेघालय राज्यमा रहेको मातृ प्रधान सामाजिक मान्यतामा हुर्केकी नवीनको आमामा त्यस्तो गुण भएकाले नै नवीनको शिक्षाका लागि बाबुलाई रिझाउँदै सिङ्गै समाजसँग लडेर भए पनि नवीनको उच्च शिक्षा हासिल गर्न पुर्याएको योगदानलाई उपन्यासको कथावस्तु बनाएकाले यो उपन्यास थप गहकिलो भएको चर्चा समीक्षाक सञ्जिवले गरे।
हेडसर र नरेस सरको शिक्षाप्रतिको अमूल्य भूमिकालाई मिहिन ढङ्गबाट उपन्यासमा चर्चा गरिएको छ।मधेशमा रोजगारीमा जाने कर्मचारी र मधेशी नागरिकले गरेको सङ्घर्षका साथै तराईको शिक्षा, स्वास्थ्य , पूर्वाधार संरचनाकोसन्दर्भ राख्दै पहाड र तराईको तुलना गर्दै पहाडमा हुने राजनीतिक व्यक्तित्वको प्रभाव र कर्मचारीले भोग्नुपर्ने सांस्कृतिक कठिनाइ जस्ता वास्तविक जीवनमा घटेका घटना परिघटना उपन्यासभित्र प्रशस्तै पाइने उनले बताए।
उपन्यासमा लेखकले कथावस्तुमा विवाद हुनसक्ने विभिन्न पक्षहरूमा विवादरहित बनाउँदै चतुर्याइपूर्वक पस्कनु लेखकको विशेष उपलब्धि रहेको समीक्षक पौडेलले बताए।उनले लेखक घटनालाई साह्रै मिहिन तथा प्रभावकारी रूपमा पस्कन सक्ने उपन्यासकार र आख्यायनकार भएको कुरा यस उपन्यासले थप परिचित गराए र भविष्यमा पनि थप मौलिक पक्षलाई समेट्ने होस् भन्ने शुभेच्छासहित पुस्तक समीक्षक सञ्जीव पौडेलले आफ्नो विचार व्यक्त गरे।
यसै गरी, शुभकामना मन्तव्य व्यक्त गर्दै पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. रामनाथ ओझाले पूर्ववक्ता सञ्जीव पौडेलको टिप्पणीलाई आधार मान्दै समाजलाई हेर्ने दृष्टिकोण लेखकको बहुआयामिक रहेको र देखिरहेको समाजलाई आर्कषक शैलीमा लेखमार्फत प्रस्तुत गर्ने गरेको बताए।उनले लेखकमा मुख्यतयाः तीन वटा व्यक्तित्व रहेको उल्लेख गर्दै पहिलो शिक्षाविद्, दोस्रो कुशल प्रशासक र तेस्रो साहित्यिक व्यक्ति भनी आफ्नो विचार राखे।लेखकले जहिले पनि आफ्ना लेखहरू भुईँमान्छेसमेत बुझ्ने गरी सरल भाषामा लेख्ने र आकाशका मान्छेलाई होइन, भुईँमान्छेको बारेमा चिन्तन गर्ने भन्दै लेखक कुनै समय आफ्नो विद्यार्थी भए पनि वास्तविक जीवनमा भने लेखक आफ्नो गुरू समेत भएको बताए।
परिचर्चा कार्यक्रममा लेखकले आफ्नो विचार व्यक्त गर्ने क्रममा उपन्यासका कथावस्तु प्राय: जसो आफ्ना आफूले सुनेका र भोगेका क्षणलाई बुन्दै तयार पारेको बताए। उपन्यासका लेखक डा. खगराज बरालले प्रेमको सन्दर्भमा उठान गरिएका विषयवस्तु कतिलाई चित्त नबुझ्न सक्ने भए पनि प्रेमको परिभाषालाई बुझाउन खोजेको बताए । प्रेमलाई यौवन र बैंसको प्रतीक नभई जन्मदेखि मृत्यु अगाडिसम्मका हरेक भावना र सम्बन्धमा रहने पनि बताए ।लेखकीय भनाइ राख्दै लेखकले उपन्यासका पात्रहरूमा सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता झल्काउने गरी साह्रै सावधानीपूर्वक लेखेको बताए । उपन्यासको प्रारम्भिक लेखनपछि ७ जनालाई पढ्न दिएको बताउँदै उनले कृतिमा समावेश विषयवस्तु सचेततापूर्वक राखिएको खुलाए ।
कार्यक्रमको अन्त्यमा लक्ष्मण थापाद्वारा ड्यासमा आसिन व्यक्तिहरूलाई मायाको चिनो स्वरूप पुस्तक प्रदान पश्चात्का र्यक्रमका अध्यक्षता गर्ने वसन्त विनोदले कार्यक्रमको अन्त्य भएको घोषणा गरे।प्राय: कार्यक्रममा मायाको चिनोको रूपमा भौतिक वस्तु उपहार दिने परम्परालाई अन्त्य गर्दै पठन संस्कृतिको विकास गर्न पुस्तक नै दिन परम्परा थालनी हुनु उत्साहको कुरा हो ।
लेखक बरालको उपन्यास प्रतिरूप एघार भागमा विभाजन गरिएको छ । उपन्यास समाजका साना-मसिना घटना- परिघटनालाई जीवनसँग जोडेर बुनिएको छ । उपन्यास पढ्दै जाँदा पाठकलाई कौतुहल बनाइरहन्छ । अन्त्यसम्म नपुगी उपन्यासले दिन खोजेको सन्देश थाहा नै हुँदैन ।
उपन्यासकार बरालको जन्मघर पोखरा महानगरपालिकाको वडा नं. २२ पुम्दीभुम्दी हो । उनी हाल लोकन्थली, भक्तपुरमा बसोबास गर्छन् ।
प्रतिक्रिया