आख्यानको एक भाग कथा हो । उपन्यास र कथालाई नै समग्रमा आख्यान मानिएको छ । कथामा पनि लघुकथाले अहिले उत्कर्ष प्राप्त गरिरहेको छ । यद्यपि कथाका पुस्तकहरु पनि निरन्तर प्रकाशन भइरहेका छन् । कथा साहित्यको पछिल्लो क्रममा प्रकाशित भएको कृति हो – फाइल नं. ८ ।
मधेश लिटरेचर फेस्टिभल वीरगंजमा एउटा सत्रको एउटा सहभागीको नाताले पाएको झोलाभित्र राखिएको अवस्थामा मैले पाएको हुँ – फाइल नं. ८ । मैले पढिरहेको पुस्तक सकिएलगत्तै यसैलाई रोजें । पढ्नुपर्ने पुस्तकहरु लाइनमा कैयौँ छन् । अहिले पालो आख्यानको आइसकेको छ । अब केही दिन आख्यानमूलक कृतिहरुको अध्ययन गर्नेछु । कृतिको पठनपछि अधिकांशको कहीँ कतै चर्चा गर्ने गरेको छु । सबैको चाहिँ गर्न सकिरहेको हुँदिनँ । फाइल नं. ८ – हेरेपछि मनमा लागेका केही कुरा व्यक्त गर्दैछु ।
कृतिकारको परिचय जन्म, वासस्थान आदिको आधारमा दिइएको छैन कृतिमा । अन्तिम गातामा फरक किसिमले चिनारी दिइएको छ । यस कृतिको प्रकाशन ब्लुरोजवन ले गरेको हो । कृतिको मूल्य ३७५ रुपैया राखिएको छ । कृतिभित्र आठओटा कथाहरु समेटिएका छन् । कृतिको अन्तिम पानामा १०८ पृष्ठ उल्लेख गरिएको छ, यद्यपि कृतिभित्र कथा आरम्भ हुनुभन्दा पहिले दश पृष्ठलाई पृष्ठ सङ्ख्यामा उल्लेख गरिएको छैन । यस कृतिको बारेमा डा. राजेन्द्र विमल र अतुल कुमार रायले प्रशंसाका केही शब्द लेखेका छन् । कथाकारको आफ्नो दृष्टिकोण र कृतिबारे पनि बताइएको छ तर कृतिकारबारे भने खासै जानकारी दिइएको छैन । अलिकति उत्सुकता बाँकी रहँदै कृतिका रचनातिर पाठकको ध्यानाकृष्ट हुन्छ । वास्तवमा कृतिकारको परिचय कृतिले दिने हो । रचनाले नै विस्तारै कृतिकारको परिचय स्थापित गर्दै जाने हुन्छ ।
‘उनीप्रतिको आकर्षण’ कथाबाट सङ्ग्रहको आरम्भ हुन्छ । म पात्रले बसमा यात्रा सुरु गरेको छ र बसमा पस्दा एउटा सिटमा एक्लै बसेकी महिलासँगैको खाली सिटमा बस्न चाहेको हुन्छ तर सामुन्नैको अर्को सिटमा बस्छ । महिलालाई हेर्न चाहेको हुन्छ तर सक्दैन । जसरी जे जे देखिन्छ । सोहीको वर्णन छ । उसँग अर्को एक जना आएर बस्ने र ऊसित टाँसिने काम गर्छ जुन म पात्रलाई मन पर्दैन । म पात्र बसेको सिटमा अर्को जो बसेका छन् ती महिलाका जेठाजु हुन् । आफ्नो ठाउँ आएपछि महिला र जेठाजु ओर्लन्छन् र गन्तव्यतिर लाग्दै गरेको म पात्रले देखिरहन्छ । फ्रायडीय मनोवैज्ञानिक शैलीमा लेखिएको यो कथामा कौतुहल पर्याप्त छ ।
‘नैराश्य’ पनि मनोवैज्ञानिक कथा हो । अमिसले एक युवतीलाई प्रेम गर्छ तर ऊ अरुको भइसक्छ । अर्की एकलाई पनि प्रेम गर्छ तर साथीकै प्रेमिका ठहरिन्छ । यसरी उसमा प्रेम भन्ने शब्दप्रति निराशा उत्पन्न हुन्छ ।
‘बार गर्ल’मा केही साथीहरुको समूह छ । बारमा जाने बानी परेका एक जना छन् । बारमा हुने रमाइलोको वर्णन साथीहरुमाझ गरेर गर्वको अनुभूति गर्छन् । बार गर्लहरुसित निकटता हुनु र क्षणिकता हुनुको अर्थ यहाँ देखिन्छ । पहिले मन परेको बार गर्ल अत्यन्तै बिरामी भएपछि भेट्न जाँदा उसले दिएको उपदेशमा कथा टुङ्गिएको छ । उसले सल्लाह दिएकी छ – बारमा कहिल्यै नजानू ।
एक प्राइवेट फर्ममा एकाउन्टेन्टको नोकरी गरेको युवक श्रेयले मनमनै साम्भ्रान्त परिवारकी युवती पावनीलाई मनमनै प्रेम गर्छ । प्रकट गर्न निकै सकस पर्छ । उसले प्रेम गरेको वा नगरेको थाहा पाउन श्रेयलाई निकै कठिन हुन्छ । अन्तमा उसले सकारात्मक जवाफ पाउँछ । ‘अजब गजब गुम्तीहरु’ कथा यस सङ्ग्रहको सबैभन्दा लामो कथा हो ।
ईश्वरले लीलालाई प्रेम गर्दथ्यो । लीलाले पनि प्रेम गर्दथी । लीलाको मन अन्यत्र पनि बहकिन थाल्यो । एकपछि अर्को, अर्को र झन् अर्कोतिर … । लीलाको मन भरिएपछि पुनः सम्झना हुन्छ ईश्वरको । ईश्वर एउटा वित्तीय संस्थाको प्रमुख भइसकेको तर मन मन्दिरको पवित्र आसनमा भने लीलालाई नै राखेको हुन्छ । लीला सम्पर्क गर्दछे र दुवै बिच मिलन हुन्छ । ‘लीला’ पनि सुखान्तमा टुङ्गिएको कथा हो ।
‘पश्चाताप’मा श्याम प्रसाद रायको सुखी परिवार छ । अन्तरजातीय विवाह गरेको रायकी पत्नी पहाडीमूलकी असाध्यै सुन्दरी छ, प्रियंका । रायको नजरमा उसकी श्रीमतीको सुन्दरताको अगाडि ऊ आफू निकै असुन्दर छ । तर क्षेत्रीय, जातीय, धार्मिक तथा वर्णभेदलाई नमान्ने विचारकी पत्नीको विचार व्यवहारमै पाएको छ । विद्यालय जाने उमेरकी छोरी छे । छोरीले उनीहरुको विचारभन्दा पृथक संवाद गर्दछे साथीसित । विस्मित भएर राय आफ्नी पत्नीमा नै खोट देख्दछ तर भन्दैन कसैलाई । राति जब छोरीसित सोही घटनाबारे पत्नीले संवाद गर्दछे तब थाहा हुन्छ कि आफ्ना शङ्काहरु निराधार छन् । अनि उसलाई हुन्छ, पश्चाताप ।
कृतिको शीर्षकसमेत रहेको ‘फाइल नं.८’ मा कहर सिंह मुख्य पात्र हुन् । वित्तीय संस्थामा ऋण लिन पुगेको कहर सिंहको जीवन कुनै कहरभन्दा कम छैन । सानैमा घरबाट बाहिरिएका कहर सिंहले नाम र जातीय पहिचान अलग्गै गरेर एक ठाउँमा हुर्किँदै जीवनयापन गर्दछ । त्यहाँ उसको बिहे हुन्छ । छोराछोरी जन्मन्छन् तब आवश्यकता पर्दछ नागरिकताको । अनि नागरिकता असली नाम र थरबाटै बन्दछ । फर्केर त्यहाँ जाँदा श्रीमती र अन्यसमेतबाट रामधुलाइ खाएर फर्किन्छ दिदीकहाँ । अनि केही गर्नको लागि ऋण लिँन जाँदा उसको सबै कुरा सार्वजनिक भएको छ । ऋण पाउँछ र तोकिएको भन्दा अन्यत्रै गएर व्यवसाय गर्दछ । पछि पत्नी र बालबच्चा पनि आउँछन् । यो पनि सुखान्त कथा हो ।
‘मिजर ब्याज’ समसामयिक कथा हो । धूरवा नामक पात्रले ऋण लिएर मिटर ब्याजको लागि निवेदन दिएको प्रसङ्ग छ । मिटर ब्याजको मुद्दाले गाउँमा पनि ऋण पाउन मुस्किल भइरहेको सन्दर्भ पनि कथामा आएको छ । काम गर्नको लागि ऋण लिने तर फिर्ता गर्ने बेलामा शोषण ग¥यो भन्ने प्रवृत्तिमाथि यसमा प्रहार गरिएको छ । यो सतही कथा हो ।
‘फाइल नं. ८’ सम्भवतः सूरज श्रीवास्तवको पहिलो कथा सङ्ग्रह हो । यसमा कथाकार श्रीवास्तवले स्वीकार गरेजस्तै युवामनमा आएका भावहरुलाई कथाको स्वरुप दिइएको हो । अन्तिम कथा चाहिँ प्रेम प्रधान छैन हैनभने सङ्ग्रहका सम्पूर्ण कथा प्रेममय छन् । कथामा मनोविज्ञानको भने पर्याप्त प्रयोग गरिएको छ । क्षीण कथानकलाई पनि मनोवैज्ञानिक तरिकाले विस्तार गरिएको छ । केही कथामा भने घटनाको बहुलता त छ तर चिन्तनमा नै पनि बढी घटनाहरु आएका छन् । अधिकांश कथामा वृत्तकारीय र वर्णनात्मक शैलीको प्रयोग गरिएको छ । कथाहरुमा, कतिपय ठाउँमा, कथाकारको प्रत्यक्ष हस्तक्षेप देख्न सकिन्छ । अधिकांश कथा उत्सुकता र कुतूहलले भरिएका छन् । पात्रहरुमा निर्णयको लागि हतार गर्ने तर संयमतापूर्वक पर्खिने प्रवृत्ति पनि पाइन्छ । मनले हतारमा निर्णय गर्दा कतिपय अवस्थामा सुन्दरतामा पनि कुरुपता देखिन थाल्छ, यसकारण हतारमा निर्णय गरेर पछुताउनुभन्दा अनुसन्धान गर्नु राम्रो कुरो भएको पनि कथामा बताइएको छ । कथाकारले जातीय, क्षेत्रीय, वर्ण तथा अन्य विभेदलाई अस्वीकार गर्नुपर्ने भाव व्यक्त गरेका छन् । नेपालमा बस्ने सबै नेपाली हुन् भन्ने राष्ट्रियताको भाव कथामा पाइन्छ । बालबालिकालाई असल संस्कार दिनुपर्ने र बार गर्ललगायत जस्तोसुकै पेसा र व्यवसायका मानिसबाट पनि जीवनका लागि असल शिक्षा लिनुपर्छ भन्ने शिक्षा पनि कथामा पाइन्छ । कथाकार आर्थिक क्षेत्रका भएकाले सोही क्षेत्र तथा परिवेशका कथाहरुको बाहुल्य हुनुलाई स्वाभाविक मान्नु न्यायसंगत देखिन्छ ।
संवादको कम प्रयोग भएको, कतिपय कथानकमा अनावश्यक घटनाहरु आएको, पर्याप्त भाषिक तथा व्याकरणिक अशुद्धिहरु, चर्को मूल्य हुनु आदि यस कथा सङ्ग्रहका सीमा हुन् ।
‘फाइल नं. ८’ एउटा पठनीय कथा सङ्ग्रह हो । फ्रायडीय मनोविज्ञान र विश्वेश्वर प्रसाद कोइरालाको पथलाई पछ्याउँदै लेखिएका मनोवैज्ञानिक कथाहरुको अध्ययन गर्ने पाठकका लागि भने यो कथा सङ्ग्रह आफैँमा संग्रहणीय पनि छ । कथाकार श्रीवास्तवले आफ्नो कथा साहित्य सिर्जनको बाटो फराकिलो बनाएका छन् । साहित्य सिर्जनाको पथ अझ समृद्ध बन्दै जाओस् भन्ने शुभकामनाका साथै परिष्कारको सुझावसमेत दिन चाहन्छु ।
पत्रकार/लेखक
प्रतिक्रिया