कवि महेश प्रसाईका कवितामा कविताचेत र समययात्रा

गोपी मैनाली २०८२ वैशाख २० गते १०:४७ मा प्रकाशित

धेरै विषयविधामा क्रियाशील रहे पनि महेश प्रसाई नेपाली समाजमा कवि व्यक्तित्वमा स्थापित नाम हो । उनको अरु व्यक्तित्वलाई कवि व्यक्तित्वले अधिनस्थ गरेको छ । एउटा व्यक्ति कवि हुन् वा व्यक्तिमा कवित्व हुन के चाहिन्छ भन्ने विषय अहम् हो । यसैबाट कुनै पनि कविको विशिष्टता, मौलिकता र प्रयोग निक्र्यौल गर्न सकिन्छ । तीसका दशका कवि महेशसँगै कविता यात्रामा लागेका कतिपय स्रष्टाहरु कवि व्यक्तित्वमा समाजले चिन्न छाडेको छ, समयले किनाराकृत गरिसक्यो । तर महेश लगायत उनको एउटा समूह चाँहि कवितामा छ र अहिले पनि निरन्तर छ किन त ?

पहिलो कवि हुन निरन्तरको साधना शक्ति चाहिन्छ, यो रहर र लहडको विषय होइन । दोस्रो, बजोडको कल्पना शक्ति चाहिन्छ । तेस्रो, कल्पना र सामाजिकतालाई संयोजन गर्ने कलाकारिता चाहिन्छ । कल्पना मात्रै न कविता बन्न सक्छ, न भोगाइको सादासंरचना मात्रै कविता हो । त्यसैले सोसल पोट्र्रेटमा कल्पनाको भाव र शिल्पको रङ्ग भर्नुपर्छ । चौथो, आलोचनात्मक चेत र समयवोध नभए पनि कविता कविता जस्तो बन्दैन । वैयक्तिक प्रज्ञाले त्यो चेतलाई विकास गर्छ । पाँचौ, जीवनवादी दृष्टिसङ्क्षेत्र चाहिन्छ । त्यो संक्षेत्र जति फराकिलो भयो, त्यसैको सापेक्ष्यमा कवि फैलिन्छ अरुसम्म पुुग्छ । जीवन हेर्ने फराकिलो फाटले अस्मिताको खोजी र अपेक्षाका विस्फारण गर्दछ । त्यसपछि चाहिने विषय शिल्प सन्धान र विधि हो । यसले कविताका मूल्यविधानलाई द्योतन र सम्वद्र्धन गर्दछ ।

कतिपय कविहरु प्रयोगमा मूल्य विधान र परिभाषालाई परिमार्जन गर्ने प्रतिभामा हुन्छन् । महान स्रष्टाहरुले यसै गरेका छन् । किनकी प्रयोग पछि मूल्य–परिभाषा निर्धारण हुने हो । कवि महेश प्रसाईमा बेजोडको कल्पनाशीलता छ, सोसल पोट्र्रेटमा कल्पनाको रङ्ग भर्न उनी माहिर छन्, फराकिलो जीवन दृष्टि छ, तीखो आलोचनात्मक चेत छ । प्रयोगवादी स्रष्टा भएकाले शिल्प सन्धानका नयाँ प्रयोग गरिरहेका छन् । कविता मार्फत कविताको परिभाषा नै परिवर्तन गर्न खोज्छन् । निरन्तरको साधना छ, जुन पाँच दशकको काव्य यात्राले सिद्ध गर्दछ ।

हो महेश प्रसाईले कलात्मक प्रस्तुति वा प्रस्तुतिमा कलात्मकताबाट कविता कुदेका छन् । कल्पनाशीलता र कलात्मकताले कवितालाई कविता बनाएका छन् । कवि कवितामा उन्मुक्त उडान गर्छन् । कलात्मक भैकन कविताहरु अमूर्त पनि छन् । शब्दहरु सवाधानीपूर्वक छानिएका छन् । शब्दले लय र ध्वनिका साथ भाव र कल्पनालाई अभिव्यक्त गरिरहेका छन् । लयमा ताल र प्रवाह छ । शब्दले अनुप्रास सिर्जना गर्छन् पनि गर्दैनन् पनि । पुनारवृत्तिले ताल सिर्जना गर्छन् तर उमर खैयामका रुवायत झै लय तालको संरचना हुनैपर्छ भन्ने छैन । ‘भूमिका पछि’ र ‘केही चमक र शिखाहरु’ खैयमका रुवायती शैलीका जीवन, मृत्यु, अस्तित्वका मानवी संवेदना र अवस्थालाई भित्री तवरले अवलोकन गर्छन् । अरु कविताहरु जीवनका खुुसी र उच्छावासका आनन्दलाई अनि सो प्राप्तिका लागि विरोधका लागि बेजोड बैयक्तिक प्राज्ञमा व्यक्त गर्छन् । जीवनको यात्रा, अल्मलाई र अवरोधहरुको पोट्र्रेट गर्दै अस्तित्वको खोजी गर्छन् ।

संवेदनशील मानिस जतिखेर पनि शब्दमा पोखिन सक्छ । आफ्नो कविताको बकपत्र (नेपोलियन र सुकमार सपना) मा कवि भन्छन् ‘र म रोएँ । खुव रोएँ । आल्हाद आनन्दले रोएँ । त्यसपछि मन हलङु्गो भयो । संवेदनाको आँसुमा ठूलै शक्ति हुँदोरहेछ । धर्तीको रजोष्णमा संवेदनै संवदनाका आँसुहरु छन् । ती आँसुहरु मैले मेरै आमाको गर्भबाट बटुलेर ल्याएको हुँ, यी कविता पङ्तिभित्र । जसरी प्रमिथसले अग्नि ल्याएको थियो स्वर्गबाट ।’ कविताको बकपत्र कवि महेश प्रसाईको जीवनको यथार्थ र कविताको मान्यता हो, जसभित्र उनी जीवन र कविता एकसथा बोलिरहेका छन् । हो, मानवीय संवेदनाले मानिसलाई भावुक बनाउँछ । कवि सिल्भ्या प्लाथले कविता प्रकाशन गरिन । त्यो उनको कलाकारिता भन्दा पनि संवेदनशीलताको उपज थियो । एकान्तवोध, भावस्मृति र सामयिकता कवितामा पोखिन्छन् । वौद्धिकताले खारिदै गएकपछि त्यहा जीवनदृष्टिको एउटा निख्खर विम्ब सिर्जना हुन्छ ।

कवि महेश प्रसाईको कविता यात्रा यही प्रवृत्तिमा छन् । उनी आफूलाई केन्द्रबिन्दुुमा राखेर कविता लेख्छन् तर आफैभन्दा बाहिर विस्तृतिमा फैलिन्छन् । कवितामा अन्तरमनको यात्रा गर्छन्, जो उत्साह र अवसादमा दोलायमान हुन्छन् र आस्तित्वको अन्वेषण गर्छन्, थेग्रान बनेर फेरिमनभित्रै टङ्चिन्छन् । दमित हुन्छन्, मच्चिएर उठ्छन् र अस्तित्वको विद्रोहीस्वर आगोको लप्का अलाप्छन् । त्यसपछि एउटा विम्बाकृति बनाउँछन्, त्यो सपाट हुँदैन । यही वृत्ति–आवृत्तिमा कवि महेशका कविताहरु आफ्ना प्रयोगमा छन् । लाग्छन् ती प्रयोगहरु आयामेली ईश्वर बल्लभ जस्तै छन् । उनकाभन्दा बढी विद्रोहमा छन् र स्वतन्त्रता अनि स्वभमिानका स्वरहरु उर्लिन्छन्

‘देवलहरु नबोल्नू
लम्वाइ विभाजन छैन
मन्दिरका सबै झ्याल, ढोका र शिवलिङ्गहरु
इतरिने कुनै कार्य छैन ।
पानीको सग्लोपन
अग्निबाट निर्देशित छ ।’ (नदी विभाजित हुँदैन)

समय यात्रा र महेश प्रसाईका कविता

महेश प्रसाईका कविता यात्राको एउटा समय मार्ग (पेसेज अफ टायम) पक्डिकएर हिडेका छन् । कविता सयमसँगै अगि बढ्छन् । ‘भूमिका पछि’ उनको युुगवोधको भूमिको प्रारम्भ हो । मानिसहरु युवा वयमा प्रेम गर्छन्, सङ्गीतमा पोखिन्छन्, प्रकृतिसँग रमाउँछन् र अस्तित्वको धुमिल खोजी गर्छन् । मेहेशले पनि त्यसै गरे । यो स्वच्छन्दतावादीहरुको धर्म पनि हो ।

दोस्रो कृति ‘अग्निको प्राग्भूमिमा’ कठोर पञ्चायती व्यबस्थाको समयमा शब्द शिल्पले लेखिएका आकाङ्क्षा, आक्रोश, विम्ब विरोध, कुण्ठा र छटपटीमा स्वतन्त्रताको खोजी गर्छ । यो निजत्वको खोजी, भनौ अस्तित्वको खोजी हो । निरङ्कुशतामा भावना पोख्न व्यङ्ग्य र विम्ब चाहिन्छ । सचेत मनले स्वतन्त्रता र अस्तित्वको खोजी गर्छ, प्रकाशनको मार्ग अमूर्त छ । भावना पोख्न प्रकृति र प्रतीकको प्रयोग सहारा लिन्छन् । यो समयको बाध्यता ओकल्छ । आगोका लप्काहरु शिल्पवस्त्रमा छन् ।

परिपक्वतातिर उक्लिदाको ‘केही चकमक र शिखाहरु’ मुक्तक शैलीको कवितासङ्ग्रह हो । मुक्त शैलीमा रहनु मुक्तकको गुण हो । प्रणय–प्रकृति विरोध–व्यङ्ग्यको यौगिकता यासको विशेषता हो । ‘निःसृत समय र कालो तिर्खा’ ‘केही चकमक र शिखाहरु’ को निरन्तरताको उत्कर्ष हो । उनकै समयका स्रष्टा ध्रुव मधिकर्मीले भने झैँ त्यहाँ ‘एउटा निराकृतिको कल्पना, एक निरन्तर स्मृति, केहीबेर आस्थाको आकृति र एउटा उत्सर्ग करतल’ मार्फत जीवनको अनुुभूूति र संवेदनाको संसार छ । कतै मनको चाँदनी त कतै गोधुलीको स्पर्श र आत्मरतिका सितारको झङ्कार छ । यहाँ आइपुुग्दा कवि प्रसाईको कवित्वले उत्कर्षको शिखर उक्लन्छ । त्यसैले अुनभूूति र संवेग विस्तृत पनि छन् र अस्तित्वको गहन संक्षेत्र देखिन्छ ।

‘प्रत्यञ्चको बादल’ मा युुगवोधको विस्तृतता र दृष्टिसङ्क्षेत्रको गहिराइ छ । ‘शब्द–वस्त्रमा रुपको नदी’ मनोभावनाको उदात्त प्रकाशन हो, जीवनको नैरन्तरिक अभिव्यक्ति हो । नदी जीवनको विम्ब हो । समय बदलिएको छ जीवन बदलिएको छैन जसरी नदीको नैरन्तरिक यात्रा रहन्छ । बदलिने समय र वस्त्रहरु मात्र हुन् । यो कविको आत्मप्रकाशनको समयविम्ब पनि हो । समयसँगै हामी बदलिएका छौं तर जीवननदी एउटै लय र गतिमा बगिरहेको छ । जीवनको वेग र प्रवेग वदल्न कवि आग्रह गरिरहेका छन्, त्यो पनि आफै विम्ब भएर । तर नबलिनुुको यथार्थ जीवन हो ।

पछिल्ला समयका फुटकर कविताले पनि समयचेतलाई जीवन सङ्क्षेत्रबाट हेर्दै आएका छन् । कवि आत्मप्रवास, मोफसल, शहर, फेरि यताउताको यात्रा गर्छन् । कवि सङ्घर्षमा छन् । सङ्घर्षले कविलाई फराकिलो बनाएको छ । यी आरोह–अवरोह, प्रवञ्चना–उच्छवास, उत्सर्ग–आवेग र कठोरता–स्पन्दनलाई कविताले अपनत्वमा स्पर्श गरेको छ । दुख, असफलता, अपहेलना, अनादर, पीडाको पर्वाह नगर्ने, त्यसबाट प्रमाणित भएको मानिसलाई अरुले विजय पाउन सक्दैन । यस अर्थमा उसले विश्व जितिसकेको हुन्छ । कवि महेश प्रसाई यसैगरी कविताको समय यात्रा गर्छन् ।

महेश प्रसाईका कविताको समयचेतले आफूबाँचेको इतिहास विवेचित छ । टि एस इलियटले भने झै प्रौढ साहित्य यसकारण त्यस बखतको इतिहास बन्छ । इतिहास कोरा समयक्रमणिका (क्रोनिकल्स) मात्र होइन, न विजेताको पक्षमा लेखिने झुुठको विवरण । महेश सिर्जनामार्फत, सिर्जना यात्रामार्फत समयको इतिहास निर्माण (विनिर्माण ?) गरिरहेका छन् । ‘केही चकमक र शिखाहरु’ का मुक्तकमा होस् वा ‘अग्निको प्राग्भूमिमा’ होस, वा ‘शब्द–वस्त्रमा रुपको नदी’ मा । उनका काव्यकृतिहरु इतिहासका इतिवृत्त मात्र होइनन, समयचेतले त्यसमाथि गरिएको विचरणको गाथा हो ।

काव्य चिन्तक इलियट कविको मनलाई प्लाटिनमको टुक्रासँग तुलना गर्छन् । त्यो प्लाटिनमको टुक्रामा स्वयम्को भावना परिचालन हुन्छ । परिस्थितिले जति लखेट्छ, उसको भवना र संवेदनहरु तीव्रत्तर हुन्छन् । ‘कविको मन वास्तवमा अनगिन्ती संवेदनाहरु, वाक्यांशहरु, विम्बहरु ग्रहण एवम् एकत्र गर्ने एउटा पात्र हो ।’ कविता तीनै अनगिन्ती संवेदना, वाक्यांश र विम्बहरु मस्तिस्कसम्म पुुगेर मथिएर परिस्कृत हुँदै शब्ददृश्यमा प्रकाशित हुन्छन् । कवि प्रसाई उनका शब्दचित्रमा कविताको परिभाषा र प्रकाशन गर्दछन् ः

‘आखिर अक्षरका कलशहरुमा,
धूनहरु बज्छन्,
खोलाका तिर्खाहरु बज्छन्,
मैले कवितालाई कोठामा देखिन
बन्दकमा देखिन’ (कविताको बन्दसत्र) ।

उनको मान्यतामा ‘जीवनविना कविताको सौन्र्य छैन । र, कविताविना पनि जीवनको सम्प्रेषण छैन’ । ‘जीवन र कविता, दुवैको अगोचरीय सान्निध्यमा’ ‘कवितै कवितासँग लडीबडी गर्दै दिगन्त यात्रा’ मा रमाउँछन् ।

भावनाको उद्वेग, प्रवेग, मनको संवेदना र चेतनाको प्रज्ञाले उनका कविताले अक्षर पाएका छन्, अक्षरभित्र सिङ्गो जीवन र समय छ । ती समयसँगै बगेका छन् । ती बस्तुुनिष्ठ समीकरण मात्र होइनन्, आत्मनिष्ठ भावासंग मिसिएको यौगिक हुन् ।

प्रतिक्रिया