नेपालले दशक अघि बेहोरेको भुकम्पकोबारेमा बेलायतमा बिचार गोष्ठी !

मदन बस्नेत। टोरोन्टो २०८२ वैशाख १५ गते १:०२ मा प्रकाशित

लन्डन। सोसाइटी अफ नेपालीज् ईन्जिनियर्स ईन युके (SONEUK) ले “२०१५ को नेपाल भूकम्पबाट सिकेका पाठहरू” शीर्षकको प्यानल छलफल भब्यताकासाथ सम्पन्न गरेको छ।

२०७२ वैशाख १२ गते शनिबार ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको त्रासदीपूर्ण शक्तिशाली भूकम्प गएको एक दशक भएको छ र त्यो दुःखद प्रकोपले लगभग ८,९५६ जनाको ज्यान लिएको थियो भने २१,००० भन्दा बढी व्यक्तिहरू घाइते हुनुका साथै लाखौं विस्थापित हुन बाध्य थिए।

हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहेको हुन्छ। भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन। नेपालीहरु अझै पनि पुनर्निर्माणको पर्खाइमा नै छन्। त्यही पीडालाई सम्बोधन गर्ने सन्दर्भमा लण्डनमा बसोबास गर्ने प्रवासी नेपाली ईन्जिनियर र बिकास प्रेमी विद्वत वर्गले २०१५ को त्यो त्रादसीपूर्ण भुकम्पको बारेमा एक बिचार गोष्ठीको आयोजना गरेका हुन्।

कार्यक्रम सोसाइटी अफ नेपालीज् ईन्जिनियर्स ईन युके (SONEUK) का अध्यक्ष ई. सुबोध तिमिल्सिनाको उद्घाटन मन्तव्यबाट सुरु भएको थियो। छलफलमा भूकम्पबाट भएको व्यापक विनाशको बारेमा चिन्तन मनन गरिएको थियो भने भविष्यमा हुने भूकम्पीय घटनाहरूको प्रभावलाई कम गर्न पहिचान गर्नुपर्ने रणनीतिहरूको बारेमा केन्द्रीकृत थियो।

तीन दशकभन्दा बढी अनुभव भएका चार्टर्ड स्ट्रक्चरल इन्जिनियर र सोसाइटी अफ नेपालीज् ईन्जिनियर्स ईन युके (SONEUK) का पूर्व अध्यक्ष ई. घनश्याम पौड्यालले सत्र मोडरेटर गर्नु भएको थियो। विज्ञहरूको प्यानलमा किङ्स्टन विश्वविद्यालय लन्डनका स्ट्रक्चरल इन्जिनियरिङका लेक्चरर डा. ऋषि पराजुली थिए, जसले “गोरखा भूकम्प २०१५ को पूर्व र पछिको परिदृश्य: सिकेका पाठहरू र अगाडि बढ्ने बाटो” शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

भू-प्राविधिक इन्जिनियरिङ र जोखिम मूल्याङ्कनमा विशेषज्ञ चार्टर्ड सिभिल इन्जिनियर डा. विनोद लाल अमात्यले “काठमाडौं उपत्यकामा २०१५ को भूकम्पको प्रभाव: भू-इन्जिनियरिङ दृष्टिकोण र भविष्यको बाटो” विषयक प्रस्तुति दिनुभएको थियो। त्यसपछि, हर्टफोर्डशायर विश्वविद्यालयका वरिष्ठ व्याख्याता डा. रोहित अधिकारीले “नेपालमा आवासीय र विद्यालय भवनहरूको भूकम्पीय सुरक्षा: २०१५ को भूकम्पबाट सिकेका पाठ र भविष्यको बाटो” विषयक आफ्नो प्रस्तुति दिनुभएको थियो।

प्यानल प्रस्तुति पछिको प्रश्नोत्तर सत्रमा कार्यक्रममा सहभागीहरूले भविष्यमा हुने भूकम्पको जोखिम सम्बन्धी महत्त्वपूर्ण प्रश्न र सरोकारहरू उठाएका थिए। मोडरेटर ई. घनश्याम पौड्यालले छलफल गरिएका मुख्य बुँदाहरूको सारांश प्रस्तुत गर्दै र सत्रका निष्कर्षहरू औपचारिक रूपमा अध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गर्नुभयो र सत्रको समापन गर्नुभएको थियो।

आफ्नो समापन भाषणमा, ई. सुबोध तिमिल्सिनाले मोडरेटर, प्रस्तुतकर्ताहरू र सहभागीहरूलाई उनीहरूको सक्रिय संलग्नता र बहुमूल्य योगदानकोलागि कृतज्ञता व्यक्त गर्नु भयो।

छलफल सत्रमा प्रस्तुत विचार प्रेरक प्रस्तावहरुलाई थप समीक्षा गरिने र सम्भवतः सम्बन्धित अधिकारीहरूलाई पठाउने अपेक्षा गरिएको छ।

दशक अघिको भुकम्पलाई लिएर साढे दुई घण्टा लामो चलेको छलफल कार्यक्रम दक्षिण लन्डनको एउटा सहरमा भएको थियो जसमा ५५ भन्दा बढी पेशेवर इन्जिनियरहरू र अन्य विद्वत वर्गको उत्साहजनक सहभागीता थियो।

मदन बस्नेत।

प्रतिक्रिया