प्रवासी नेपाली मञ्चको आयोजनामा लेक्जिटनमा सप्ताहव्यापी रक्तदान

इनेप्लिज २०८१ फागुन १३ गते ३:५४ मा प्रकाशित

केन्टकी । प्रवासी नेपाली मञ्च (ओएनएफ) केन्टकी अमेरिकाको आयोजनामा फेब्रुअरी १७ देखि २२ सम्म अमेरिकाको लेक्जिनटन सहरमा सप्ताहव्यापी रक्तदान कार्यक्रम भएको छ ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रममा ७३ युनिट रगत संकलन भएको छ ।

प्रवासी नेपाली मञ्च अमेरिकाका उपसचिव तथा मिडवेष्ट इन्चार्ज डा. थोमस वास्तोलाले ओएनएफका प्रत्येक राज्य कमिटीले हरेक वर्ष महत्वपूर्ण सामाजिक काम गर्ने योजना अनुरुप नै यो रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले आयोवा राज्य कमिटीले जाजरकोटका विपन्न विद्यार्थीहरुका लागि स्थायी छात्रवृत्ति कोषको स्थापना गरेको पनि जानकारी दिए ।

१०१ जना इच्छुक सहभागीहरूमध्ये ७३ जनाको सफल रक्तदानसहित ऐतिहासिक रक्तदान सम्पन्न भएको ओएनएफ केन्टकी राज्य समिति अमेरिकाका सचिव गणेश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा ओएनएफ अमेरिकाका महादेश कमिटी सदस्य केशव लोहनी, ओएनएफ अमेरिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष गोपाल कँडेल, राष्ट्रिय कार्यसमिति उपसचिव डा. थोमस बास्तोला, राष्ट्रिय कार्यसमिति सदस्यहरू घनश्याम खनाल, मोहनी डुम्रे, राष्ट्रिय कार्यसमिति सल्लाहकार एकनारायण सुवेदी, ओएनएफ केन्टकीका अध्यक्ष शिवशंकर देवकोटा, कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू स्थानीय संस्था एनआरएन केन्टकीका अध्यक्ष सुन्दरमणि पौडेल, एन्काका पूर्वअध्यक्ष लक्ष्मी खड्का, एन्काका सचिव भरत उप्रेतीलगायत स्थानीय विभिन्न व्यक्ति, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित व्यक्तिहरूले ओएनएफ केन्टकीले गरेको यस सामाजिक कार्यले नेपाली समाज अमेरिकाको जीवनदानको उच्च भावनाले भरिएको कार्यक्रम ऐतिहासिक भएको बताए ।

प्रतिक्रिया