टीकापुर घटनामा मारिएका प्रहरीका परिवारलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ भदौ १६ गते १४:०२ मा प्रकाशित

काठमाडौँ, १६ भदौ । कैलालीको टीकापुरमा भएको घटनामा मृत्यु भएका दुई सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई आर्थिक सहयोग तथा एक/एक सन्ततिलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

घटनामा परेका सशस्त्र प्रहरीका परिवारलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले रु एक÷एक लाख प्रदान गरेको छ । सो रकम सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुर कैलालीमार्फत वरिष्ठ हवल्दार ललितबहादुर साउदको परिवार तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दियामार्फत सशस्त्र प्रहरी हवल्दार रामविहारी थारुको परिवारलाई बुझाइएको छ ।

यसैगरी, मृतक सशस्त्र प्रहरीका एक÷एक सन्ततिलाई सशस्त्र प्रहरी परिवार महिला सङ्घले उनीहरुको अभिभावकको स्वीकृति भए काठमाडौं ल्याई आवासीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने भएको छ ।

उक्त घटनामा प्रदर्शनकारीले प्रहार गरेको गोलीबाट सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदको डेढ वर्षीय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले साउद परिवारलाई रु ५० हजार आर्थिक सहायता प्रदान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि, सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्तर्गत दुवै सशस्त्र प्रहरी कर्मचारीको किरिया खर्चवापत तत्कालै उनीहरुका परिवारलाई रु ३०÷३० हजार प्रदान गरिएको थियो । बलको कल्याणकारी योजनाअन्तर्गत निर्जीवन दुर्घटना बिमावापत रु चार लाख तथा सेवा अवधिभरको प्रत्येक वर्षका लागि वार्षिक रु दुई हजारका दरले रकम प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया