सरकारमा कुनै खटपट छैन सत्तारुढ दलहरूबीच समझदारीका साथ अगाडि बढ्छौं प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८१ असार ८ गते १३:४८ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताउनुभएको छ।

शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महाधिवेशनमावसम्बोधन गर्दै प्रधानमन्त्रीले बताउनुभयो, ‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर, कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर, केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ। समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरण कुनै समस्या छैन र हुँदैन ।’

कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जनजातिहरूले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गर्नुभयो।

प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिका लागि सङ्घर्ष भएको स्पष्ट पार्नुभयो ‘जनयुद्ध जनताको युद्ध थियो। लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो। आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ। हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ। यही आधारमा टेकेर समाजवादको तयार गर्छौं ।’

कार्यक्रममा प्रधानमन्त्रीले छिट्टै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने बताउँदै पार्टीका सबै नेता–कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिनेसमेत उद्घोष गर्नुभयो।

प्रतिक्रिया