१३ मार्च, काठमाण्डौं,
साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह युङफ्राउ बजारमा आएको छ ।
अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको यो पाँचौं नियात्रासङ्ग्रह हो । यस अगि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा, दाइबुचु र उमिहोतारु नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । युङफ्राउ नियात्रासङ्ग्रहमा स्विजरल्यान्ड, ग्रिस, बेलायत र पोर्चुगलका सत्ताइसवटा यात्रानुभूतिहरु समाविष्ट छन् । विदेशका इतिहास, कला, साहित्य र संस्कृति आदिका विषयमा नियात्रा लेख्न मन पराउने बजगाई अलग धारका नियात्राकार हुन् ।
नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका डेढ दर्जन कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित र सक्रिय साहित्यकार हुन् । नेपालमा हुँदा साहित्य सिर्जना, सम्पादन तथा साहित्यिक संघसंस्थामा सक्रिय बजगाई परदेशको भूमिमा पनि विगत २४ वर्षदेखि लेखन, सम्पादन र साहित्यिक सस्थाको नेतृत्वदायी भूमिका छन् । उनका एक लघुकथा नेपालको कक्षा १२ मा, एक लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाई भई रहेका छन् ।
विगत सत्र वर्षदेखि बजगाईंले बेलायतबाट साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कमको प्रकाशन तथा सम्पादन गरिरहेका छन् । उनी विगत सात वर्षदेखि नियमित प्रकाशित भइरहेको नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’का प्रधान सम्पादक तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन् ।
भुँडीपुराण प्रकाशन काठमाण्डौंबाट प्रकाशित युङफ्राउको मुल्य रु.४९० रहेको छ । उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसलहरु र अनलाईनबाट बिक्री भइरहेको छ ।
प्रतिक्रिया