आगजनीबाट वन कार्यालयका सबै सामान नष्ट

इनेप्लिज २०७२ भदौ ११ गते ९:५५ मा प्रकाशित

aaglaagiजुम्ला, ११ भदौ । जिल्ला वन कार्यालय जुम्लाका कर्मचारी यतिबेला समीक्षालयबाट सेवा प्रवाह गरिरहेका छन् ।

विशेष अधिकारसहितको कर्णाली स्वायत्त राज्यको मागसहित साउन २३ गतेको सहमति खारेज गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले जिल्ला वन कार्यालय जुम्लामा आगो लगाई दिएका थिए । आगलागीबाट कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ ।

कार्यालयसहित त्यहाँ भएका ल्याबटप, कम्प्युटर, दराज टेबल, महत्वपूर्ण सामग्री सबै जलेकाले काम कहाँबाट कसरी गर्ने भन्ने कुराले पिरोलेको जिल्ला वन अधिकृत हेमलाल अर्यालले दुखेसो गर्नुभयो । अधिकृत अर्यालले भन्नुभयो, कार्यालय नै छैन, न दराज छ, न टेबुल, नत कुर्ची नै ।

सेवाग्राही कार्यालयमा आउँछन् र उराठ मन लिएर जान्छन् । पानी आउँदा र जाडो बढ्दै जाँदा अब हिमाली जिल्लामा कसरी काम गर्ने ? अप्ठ्यारो स्थिति आइलागेको उहाँको भनाइ छ ।

सहायक वन अधिकृत श्यामलाल महतले आवश्यक फर्निचर नभएकाले पनि तत्कालै भाडामा घर लिन नसकिने बताउनुभयो । कार्यालयले अहिले पुनः शून्यबाट काम सुरु गरेको छ । दर्ता चलानीलगायतका आधारभूत आवश्यकताका सामग्री ल्याएर सेवाग्राहीलाई समीक्षालयबाट भए पनि सेवा दिने गरिएको छ ।

आगजनीबाट १८६ सामुदायिक वनका कार्ययोजना नष्ट

वन कार्यालय जुम्लामा आगलागी हुँदा १८६ सामुदायिक वनका कार्ययोजनाका फाइल पूर्णरुपले नष्ट भएका छन् । कार्यालयका लागि नयाँ फाइल स्वीकृत गराउने भनिए पनि सबै फाइल नष्ट भएपछि कार्य अधुरो रहेको बताइएको छ ।

आव ०७१÷०७२ को हिसाबकिताब कुनै बाँकी छैन भने यो हविगतले लेखा परीक्षण पनि हुन नसक्ने वन अधिकृत अर्यालले जनाउनुभयो ।

आन्दोलनकै क्रममा आगजनी भएका सरकारी कार्यालयमा कृषि अनुसन्धान बागवानी विकास केन्द्र जुम्लाको भवन पनि पूर्णरुपले ध्वस्त भएको छ । उक्त केन्द्रमा पनि अनुसन्धानका महत्वपूर्ण कागजात जलेकाले कर्मचारीलाई काम गर्न गाह्रो भएको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

साथै आन्दोलनको समयमा के कति क्षति भयो भन्ने कुराको जानकारी जिल्ला प्रशासन कार्यालयसहित आआफ्नो मन्त्रालयमा दिन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन गरिएको प्रजिअ पौडेलले उल्लेख गर्नु भयो ।

प्रतिक्रिया