राम्रा मान्छेहरु ठीक ठाउँमा हुनुपर्छ । मान्छे नै नभएर राजतन्त्र खोज्नुपर्ने अवस्था आइसकेको छैन । राम्रा मान्छे सही ठाउँमा आउन सकेका छैनन् । अब ती राम्रा मान्छेले पुरानाबाट सत्ता खोस्नुपर्यो या त मिल्काउनु पर्यो ।
हरेक पार्टीमा उनीहरूका सक्षम मान्छे पर्दा त क्षमता त देखाएका छन् । राम्रो गरेर देखाएका मान्छेहरूको कमी भएको होइन । अब हामी नागरिक आन्दोलनले पनि ती मान्छेहरूलाई ल्याउन र पुरानालाई निकाल्नका लागि जोड गर्नुपर्यो । समाज र नागरिकले पनि जोड दिएर यी भ्रष्ट मान्छेलाई चुनावमा जिताएर पठाउनुभएन ।
जनताको पनि ठूलो कमजोरी भनेको यी नेताबाट नितान्त निराशा छौँ तर भोट हाल्ने बेलामा तिनीहरूलाई नै हाल्ने गर्छौँ । तिनै मान्छे सत्तामा आउँछन् । हाम्रो हातमा पनि साँचो छ, भ्रष्ट मान्छेलाई चुनावबाट हराऔँ न । कार्यकर्ताहरूले पनि पार्टीको महाधिवेशन हुन्छ,त्यहाँबाट पनि यिनलाई बिदा गर्न सक्छन् ।
राम्रो गाडी चलाउने ड्राइभर जँड्याहा भयो भने त भीरमुनि पुग्छ। त्यही गाडी हो, अहिलेको संविधान । संविधानमा जनताले खोजेको निःशुल्क शिक्षा, स्वास्थ्य, गास, बास, कपास मौलिक हकका रूपमा राखिएको छ। यसलाई चलाउने व्यक्तिले व्यवहारमा लागु नगर्नुको परिणाम नै हो यो । त्यसैले गाडी फेर्ने हैन,ड्राइभर फेर्नु पर्यो । अहिले भएको ड्राइभरको पुस्तालाई फेरेर नयाँ पुस्ताले त्यसलाई जबरजस्ती फाल्न सक्नुपर्यो ।
नेताहरूले आफ्नो सक्षमता प्रदर्शन नगरेको र आफूले भनेको बचन आफूले पूरा नगरेका कारणले विश्वास गुमेको हो ।जस्तो बोल्ने त्यस्तै गर्ने मान्छे यहाँ धेरै छन्, तिनलाई जनताले, कार्यकर्ताले ल्याउनु पर्यो। कार्यकर्ताले पनि उनीहरूलाई छोड्छन् । मैले पालो पाउँला भन्ने हैन, बोल्नुपर्यो । आवाज उठाउनुपर्यो । अनि मात्र परिवर्तन आउँछ । परिवर्तन एउटा क्रान्ति गरेर आउँछ।
लोकतन्त्रको विकल्प योभन्दा उन्नत लोकतन्त्र मात्रै हो । यसको विकल्पमा सामन्ततन्त्र ल्याउने होइन । यी नेतृत्वको विकल्प यो भन्दा भ्रष्ट नभएको स्वच्छ नेतृत्व हो ।
अहिले प्रणालीकै समस्या हो भन्ने लाग्दैन मलाई । अहिलेकै संविधानलाई राम्रोसँग लागू गर्ने हो भने नेपालमा ठूलो परिवर्तन गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, गास, बास र कपास सबैको संरक्षण गर्छु भनेर आएको संविधान हो यो । यो एउटा कागज हो, यो त लागू गर्नुपर्छ ।
अहिलेका नेताहरु असक्षमजस्तो लाग्दैन । उनीहरू इमान्दार हुने र आफैं स्वच्छ भएर आफ्नो बाचा नबिर्सने हो भने देश चलाउने एक से एक मान्छे छन् । तर, रातारात निम्नमध्यम वर्गबाट उच्च वर्ग बन्ने हो भने जुन मन्त्री आए पनि यस्तै हो ।
मान्छेहरू जो अहिले भ्रष्ट देखिएका छन्, तिनलाई फाल्नुपर्छ । तिनलाई फाल्न नयाँ पुस्ता आउनुप¥यो । नत्र संविधान जतिपटक नयाँ बनाएर पनि काम छैन । अमेरिकामा त्यही संविधान २०० वर्ष अगाडिदेखिकै चल्दैछ । स्वीटजरल्याण्डमा त्यही छ । तर, नेपाल हरेक १०÷१० वर्षमा संविधान बदल्दैछ ।
संविधान बदल्नेमा नेपाल नामी हुनुछैन, संविधानले चलाउने मान्छे बदल्नुमा नेपाल नामी हुनु परेको छ । संविधान जति नै राम्रो ल्याए पनि नयाँ मान्छे नल्याएसम्म केही फरक हुँदैन ।
लामो समयसम्म निराशा बदलियो भने यो व्यवस्था नै खराब हो, व्यवस्था नै बदल्नुपर्यो भन्ने दिन पनि आउँछ । कारण, व्यवस्था हैन नेतृत्व हो । लामो समयसम्म यस्तै अवस्था रहँदा मान्छेहरूमा धैर्यता हुँदैन । तर, कारण व्यवस्था हैन, जस्तोसुकै व्यवस्था ल्याए पनि यस्तै असक्षम र भ्रष्ट मान्छे नेतृत्वमा रहने हो भने त्यो व्यवस्थाले पनि काम गर्ने वाला छैन ।
हामीले नयाँ पुस्तालाई निराशा दिनुहुँदैन । नयाँ, सक्षम मान्छेहरू नभएको हैन । मान्छे एकजना बदल्दा कति फरक हुन्छ भन्ने कुरा त नेपाल बिद्युत् प्राधिकरणलाई पनि हेर्न सकिन्छ । पहिला हामीले १६ घण्टासम्म लोडसेडिङ भोगेका थियौँ । तर, एउटा मान्छे फेर्दा प्राधिकरण अहिले बिजुली बेच्नेमा गएको छ । नाफामा नै गएको छ । नेपालले ८ देखि १२ अर्बको बिजुली भारतलाई बेचिरहेको छ । ५ देखि १० वर्षको बीचमा यो सम्भव भएको छ, हिजो जुन असम्भव भनिएको थियो ।
प्रतिक्रिया