लोकप्रिय एवं कुशल गीतकार ज्ञानेन्द्र गदालको शव्द, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र निशान भट्टराई एवं अस्मिता अधिकारीको सुमधुर स्वरले सजिएको ‘फूल हौ तिमी’ नामक कर्णप्रीय गीतको श्रव्य दृश्य सहित सार्बजनिक गरिएको छ।
गीतकार संघ, नेपालद्वारा हिजो शुक्रबार काठमाडौँमा आयोजित लोकार्पण समारोहका प्रमुख अतिथि समेत रहनुभएका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले youtube मार्फत उक्त गीत सार्बजनिक गर्नुभएको हो। लोकार्पण पछि मन्तव्यका क्रममा प्रमुख अतिथि बास्कोटाले गीतकार ज्ञानेन्द्र गदाल र संगीतकार सन्तोष श्रेष्ठको गीतसंगीतप्रतिको लगाव, स्तरीयता कायम र निरन्तरताको चर्चा समेत गर्नुभयो।
कार्यक्रममा इनास ग्लोबलकि उपाध्यक्ष, समाजसेवी एवं चलचित्र निर्मात्री सावु गदाल कार्की र इनास अमेरिकाका पूर्व अध्यक्ष गायक कन्हैया सिंहले प्रवासमा नेपाली गीत संगीतको विकास र लोकप्रियताका बारेमा गहन चर्चा गर्नुभयो। संगीतकार सन्तोष श्रेष्ठले विमोचित गीत सिर्जनामा गीतकार र गायक गायिकासंगको सहकार्यका बारे चर्चा गर्नुभयो।
संचारकर्मी सहित साहित्य संगीतका पारखिहरुबाट खचाखच समारोहको सभापतित्व संघका अध्यक्ष गीतकार वशन्त बि.थापाले गर्नुभएको थियो भने उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रम संचालन गर्नुभएको थियो।
सौरम राज तुलाधरको निर्देशन र शम्भु मोक्तानको छायांकनमा मोक्तान डिजिटलद्वारा निर्मित उक्त गीतमा निकेश धामी र श्रद्धा भण्डारीको अभिनय रहेको छ। गीत काठमाडौँमा रेकर्डिङ्ग गरिएको हो भने दृश्य छायांकन अमेरिकाको सानफ्रान्सिस्कोमा गरिएको छ।
प्रतिक्रिया