क्यानाडामा पतझर मौसको सुरुवात संगसंगै चिसो ह्वात्तै बढेको छ तर मर्निङ वाक गर्ने र खुल्ला चौतारामा भेला भएर योग गर्ने हुटहुटिले भने अझै छोडेको छैन नियमित रुमपा महिनौ देखि योग अभ्यासरत एउटा समुहलाई।
थोरै नेपाली अलि बढी भारतीयमूलका पंजाबी र एकाध बंगलादेशी र पाकिस्तानीको हुल प्रत्येक दिन बिहान ब्राम्पटन स्थित हिकोरी पार्कमा योग अभ्यास गर्दै गरेको भेटिन्छ। र, उनीहरूलाई योगका कस्ता कस्ता आशन गर्ने र कस्तो बिमारीमा कुन प्रकारको आशन ठिक हुन्छ भनेर सिकाउँदै गरेका भेटिन्छ्न् – क्यानाडा भ्रमणमा रहेका नेपाली योगाचार्य गंगा ढकाल।
एकाध घन्टाको मर्नीङ वाक र त्यस लगत्तै सुरु हुने योगाभ्यास नेपाली धुनमा छमछमी नाचेपछी बिट मार्ने गरिँदो रहेछ। नेपाली धुनमा हिकोरी पार्कमा सबै देशीविदेशी नागरिकहरु छमछ्मी नाचेको टिकटक योगाचार्य गंगा ढकालको आईडीमा खुब भाईरल पनि भएको छ।
मर्नीङ वाकमा भेटिएकाहरुसंग थकान मेट्न पार्कको चौतारोमा बस्दै गर्दा सुरु भएको योगाभ्यास महिनौं बितिसक्दा उनीहरूकालागी त्यो नियमित आकस्मिकता बनेको छ। त्यसैले जाडोको पर्वाह नगरी हिकोरी पार्कमा योग अभ्यासमा जुट्नेको भिड दिनदिनै बढ्दो छ।
योगाचार्य ढकालले योग त सिकाउनुहुन्छ नै त्यसको अलावा वहाँ उनीहरूलाई विभिन्न रोगको निदान कसरी गर्न सकिन्छ भनेर आयुर्वेदिक औषधि र एक्युप्रेसर थेरापीको टिप्स पनि निशुल्क बताईदिनु हुन्छ।
त्यसो त क्यानाडामा रहेका नेपालीले ब्राप्टनमा स्थापना गरेको पशुपतिनाथको मन्दिरमा प्रत्येक आईतबार बिहान १० देखि ११ बजेसम्म सबै उमेर समुहका लागि संचालन भैइरहेको योगा क्लासमा पनि वहाँ नियमित रुपमा प्रशिक्षण गरिरहनु भएको छ। यसै बर्षको समरमा विद्यालयहरुमा समर ब्रेक हुँदा पशुपतिनाथको मन्दिरले संचालन गरेको समर क्याम्पमा ४० नेपाली बिद्यार्थीहरुलाई पनि वहाँले योग,आयुर्वेद ध्यान र मन्त्रको बिशेष प्रशिक्षण दिनु भएको थियो।
हुनत योग सिकाउनेहरु अचेल जतै पनि भेटिन्छ्न् तर गंगा ढकाललाई एउटा सामान्य योग प्रशिक्षकको रुपमा बुझियो भने त्यो बुझाई सर्वथा गलत साबित हुनेछ। त्यो किनभने गंगा ढकालबाट सामान्य योग अभ्यास मात्र सिक्न सकिने होईन थेरापिकल योगा, आयुर्वेद, एक्युप्रेसर र प्राकृतिक चिकित्साको प्याकेजको समग्र सिकाई नै प्राप्त गर्न सकिन्छ। त्यतिमात्र होईन, रोग बिशेष कस्ता बिरामीले कस्तो योगा गर्ने ? कस्तो आहार खाने ? कस्तो आनीबानी हुनुपर्ने भन्ने सम्पूर्ण विषयमा बिस्तृतमा जानकारी पनि मिल्छ।
जगदम्बा मेडिकल कलेज राजबिराजबाट अध्ययन पूरा गरेका ढकाल शिक्षाले वैद्य पनि हुन्। उनले पतन्जली योग पीठ हरिद्वारबाट पनि अध्ययन पूरा गरेका छ्न् र वरिष्ठ योग प्रशिक्षकको रुपमा लामो समयदेखि कार्यरत पनि छ्न्। उनले वाल्मीकि कलेज काठमाडौंबाट अध्ययन पूरा गरेर योगाचार्यको हैसियत पनि बनाएका छ्न्। भारत राजस्थान स्थित एक्युप्रेसर हेल्थकेयर सिस्टम बिपिडी, एमडीको अध्ययन गरेर उनले एक्युप्रेसर थेरापीको सेवा प्रदान गर्न थालेको पनि बर्सौं भईसक्यो। यसरी एउटै ब्यक्ति शिक्षा, सेवा, ज्ञान र अनुभवले वैद्य, वरिष्ठ योग प्रशिक्षक, एक्युप्रेसर थेरापिस्ट र मोटिभेसनल स्पिकर बिरलै भटिन्छ्न्। गंगा ढकाल त्यस मानेमा अपबाद हुन्।
बिदेशको ब्यस्त ठाउँ, समय निकाल्नै जो कसैलाई पनि हम्मे हम्मे हुने अबस्थामा क्यानाडामा बन्द प्रशिक्षणमा होस् कि हिकोरी पार्कको खुल्ला आकास, जो जहाँ भेटिन्छ्न् र स्वास्थ समस्याको जिज्ञासा राख्छ्न् तीनलाई तत्काल तत्क्षण निशुल्क सेवा दिन तयार भेटिन्छ्न् – गंगा ढकाल।
नेपालको दमक ईटहरीमा वैदिक आयुर्वेद एण्ड एक्युप्रेसर हेल्थकेयर सेन्टर चलाएर थुप्रै बिरामीलाई सेवा प्रदान गर्दै आईरहनु भएका ढकालले समाजमा पुर्याउनु भएको योगदान बापत योग तथा आयुर्वेद स्वास्थ्य सेवा सम्मान, रास्टृय नागरिक सम्मान, रास्टृय शिखर अनर अवार्ड, कोभिड भोलेन्टियर्स अवार्ड र कोभिड डिफेन्स भोलिन्टियर्स अवार्ड पनि प्राप्त गर्नु भएको छ।
वहाँद्वारा लेखिएको पुस्तक मध्य सर्वाधिक चर्चा कमाउन सफल पुस्तकहरुमा ” भान्साभित्रको उपचार” र ” स्वास्थ्य सुरक्षाका सुत्रहरु” पर्दछ्न्। त्यस अर्थमा ढकाल नेपालामा योग र आयुर्वेदिक उपचारको क्षेत्रमा एक चिरपरिचित नाम हो। र वहाँ स्वयंसेवी रुपमा नेपाली समुदायलाई योग सिकाउन र स्वस्थ, सबक र सक्षम बनाउन अहोरात्र खटिरहनु भएको ब्यक्तित्व हो।
हाल वहाँ पारिवारिक भेटघाटको क्रममा क्यानाडामा हुनुहुन्छ र आफुले जानेबुझेका ज्ञान क्यानेडेली नेपाली समाजलाई दिईरहनु भएको छ। तर दु:खका साथ भन्न करै लाग्छ कि क्यानेडियन नेपाली समुदायले वहाँको ज्ञान, अनुभव र सीपको भरपूर उपयोग भने गर्न सकेको देखिंदैन।
क्यानाडाको अलावा वहाँले थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, युएई, टर्की, कतार, कोरिया, चीन र अमेरिकाको पनि भ्रमण गरीसक्नु भएको छ र त्यहाँ पनि आफ्नो ज्ञान र अनुभवलाई बाँड्न भ्याईसक्नु भएको छ।
पछिल्लो समयमा सामाजिक संजालमा पनि वहाँ निकै सकृय हुनुहुन्छ। बिशेषगरि टिकटक लाईभमा वहाँ गंगा दाजुको नामले परिचीत हुनुहुन्छ। टिकटक लाईभमा पनि वहाँले बोल्ने र दिने भनेको त्यही स्वास्थ्य सम्बन्धि बिबिध जानकारी नै हो जहाँ सयौं ब्यक्तिहरु आफ्ना स्वास्थ्य समस्या बताउन र समाधान सुझाउन गंगा दाजुसंग प्रत्येक दिन जोडिएका हुन्छ्न्।
क्यानाडा बसाई टुंग्याएर नेपाल फर्कने दिन नजिकिँदै गर्दा गंगा दाजुको एउटै पिरलो छ – नेपाली मन्दिर पशुपतिनाथ ब्राम्पटनमा हरेक हप्ताको आईतबार बिहान संचालित योगा क्लासले आफ्नो अनुपस्थितीमा निरन्तरता पाउला कि नपाउला ?
ब्राम्प्टन स्थित हिकोरी पार्कमा बिहान बिहान भेला भएर योग गर्नेहरु चिसो बढ्दा र हिउँ परेर चौर सेताम्मे हुँदा कहाँ कसरी योगाभ्यास गर्लान् ?
गंगा दाजुको ती प्रश्नको उत्तर मसंग हुने कुरै भएन तर वहाँले उठाउनु भएको सवालले मेरो मन र मस्तिष्कमा जसरी झड्का दिएको छ, त्यसैगरी धेरै नेपालीहरुको हृदयलाई अवश्य पनि छोएको हुनै पर्छ। ढिंलो चाँडो वहाँको सवालको यथोचित जवाफ आउनेमा आशावादी हुन सकिन्छ।
मदन बस्नेत, टोरोन्टो
प्रतिक्रिया