नेकपा एमाले अध्यक्ष ओली–एमालेले मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउन सक्ने

इनेप्लिज २०८० असोज १७ गते १६:०९ मा प्रकाशित

विराटनगर,१७ असोज ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल ,सुखी नेपाली बनाउने जिम्मेवार एमालेको काँधमा रहेको बताउनु भएको छ।

नेकपा एमाले प्रथम कोशी अधिवेशन– २०८० प्रदेश कमिटीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज यहाँ आयोजित शपथ ग्रहण समारोहमा उहाँले सरकार,कर्मचारीतन्त्र र प्रशासन राष्ट्रको विकासको अभियन्ता हुनुपर्छ भन्ने मान्यता पार्टीले अगाडि वढाएको धारणा राख्नु भयो ।

अध्यक्ष ओलीले आजको विज्ञानको युगमा उत्पादन ,मानवीय संशाधनको विकास लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने विचार राख्नु भयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपाली बनाउने मुख्य जिम्मेवारी एमालेको रहेको छ भन्दै गरीवी निवारण, पूर्वाधार, पर्यटन, कृषिको व्यवसायिक गर्नु पार्टीको नीति रहेको धारणा राख्नु भयो ।

अध्यक्ष ओलीले एमाले देशको स्वाधिनता, भौगोलिक अण्खण्डता जोगाउने पार्टी भएको विचार राख्दै सहि नीति र विचारले मात्र मुलुक सञ्चालन गर्न सकिने बताउनु भयो ।

उहाँले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एमालेले मात्र गर्न सक्ने दावी गर्नु भयो ।

पूर्व प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास बोकेको कोशी प्रदेशमा आगामी निर्वाचनमा प्रत्येक वडाहरुमा ५१ प्रतिशत पार्टीका उम्मेदवारलाई विजयी बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

प्रदेशका नव निर्वाचित अध्यक्ष घनश्याम खतिवडाले राजनीति पेशा होइन सेवा भएको मान्यता पार्टीमा स्थापित गराउने बताउनु भयो ।

यस अघि पार्टीका सचिव एवं प्रदेश इन्चार्ज रघुवीर महासेठले पाँच पदाधिकारी एवं दुई सय सदस्यहरु गरी दुई सय १५ जनालाई शपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया