दुबईमा एनआरएनएको सहकार्यबाट पासपोर्ट नविकरण घुम्ती सेवा सम्पन्न!

लालबहादुर ढेंगा, दुबई, युएई २०८० असोज १४ गते १९:४२ मा प्रकाशित

दुबई । आज १ अक्टोबर आईतबारका दिन दुबईको डिआईपीस्थित तासजिल सेन्टरको आफिसमा नेपाली राजदूतावास अबुधावीको आयोजना तथा एनआरएनएको सहकार्यमा नेपाली पासपोर्ट नविकरण घुम्ती सेवा सफलता पूर्वक सम्पन्न भएको छ । उक्त सेवा बिशेष गरि श्रमिकहरुको सहज र सहुलियतलाई ध्यानमा राखेर गरिएको हो ।

गत महिना ३० जुलाईका दिन आर्थिक पारदर्शिता संस्थागत सुदृढीकरण र श्रमिक मैत्री अभियान ल्याउछु भनेर युवा नेत्रित्व विकास शाहीको अध्यक्षतामा ३५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतबाट चयन भएको थियो । सोही वचन अनुसार श्रमिकहरुका लागि पहिलो अभियान थालनी भएको पाईन्छ । साथै यस अभियानले श्रमिकहरुलाई राहत पाउनुका साथ समाजले कुन दिशामा पाईला चालेमा समाज र श्रमिक बिचको नाता कसरी नजिक हुन्छ भन्ने आभाष गर्ने मौका पनि पाएको छ ।
युएईको सन्धर्वमा धेरै श्रमिकहरु दुबई राज्यमा भएको र अन्य राष्ट्रहरुको तुलनामा नेपाली राजदूतावासको कन्सुलेट सेवा दुबईमा नभएका कारण श्रमिकहरुले एक दिने बिदा लिएर अबुधावी धाउन पर्ने बाध्यता थियो । कतिपयका एक दिने पैसा कम्पनीले कातिदिन्थ्यो । र आउन जानका लागि यातायात खर्चका साथ मेहनत पनि अलगै हुने गर्दछ । त्यसैले यस कार्यलाई आगामी दिनहरुमा पनि बिशेष सूचिमा राखेर निरन्तरता दिन जरुरी देखिन्छ ।

धेरै श्रमिकहरु कार्यरत रहेको एरियालाई सेन्टर प्वाईन्ट गरेर पासपोर्ट नविकरणका कार्य बिहानको १० बजेदेखि सांझको ५ बजेसम्म रहेको थियो । जस्मा कुल १०८ जना सेवा ग्राहीहरुले प्रत्यक्ष सेवा लिनमा सफल भएका छन् । एकजना व्यक्तिको अबुधावी आउन र जानका लागि दिराम २ सयदेखि ३ सयसम्म खर्च हुने गर्दछ । त्यो सबै खर्च बचेर मात्र नेपाल सरकारको दस्तुर दिराम २ सयमा पूरा सेवा पाएको छ ।

भर्खरै २ महिना अगाडि मात्र आफ्नो कार्यकाल सम्हालेका एनआरएनएका अध्यक्ष विकास शाही नयां जोश र जागरका साथ श्रमिकहरुको हितमा जुटेको पाईन्छ । अझै दशैं र तिहारको पश्चाय युएईको अन्य राज्यहरुमा पनि यस्तै अभियान जारी राख्ने बताएका छन् । नेपाली राजदूतावास अबुधावीको आयोजना र एनआरएनएको सहकार्यलाई धन्यबादको दिनु पर्दछ । अध्यक्ष शाहीले पासपोर्ट नविकरण सेवामा संग्लन रहेका सम्पूर्ण पदाधिकारीहरु, सेवाग्राहीहरु र दूतावासलाई बिशेष धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेंक्षा समेत गरेको छ ।

अन्त्यमाः युएईकै परिभेषमा हेर्ने हो भने धेरै श्रमिकहरु दुबईमा कार्यरत रहेका छन् । आगामी दिनमा यस्तै खालका पासपोर्ट नविकरण घुम्ती सेवाको आयोजना गर्दा सम्बन्धित निकायले ३ महिनाको समयमा प्रचारप्रसार गरेर बरदुबईमा सेन्टर प्वाईन्ट गर्नु पर्ने देखिन्छ । किन कि एरियालाई भन्दा पूरे दुबई शहरलाई लक्षित गरेमा अझै धेरैले लाभ लिन सकिन्थ्यो कि ? यस्तैगरी अन्य राज्यहरुमा पनि घुम्ती सेवाको अति आवश्यकता देखिन्छ ।

अध्यक्ष शाहीको अनुसार एनआरएनएको सहकार्यमा नविरकण भएका सबै पासपोर्ट सोही संस्थाले दुबईमा ल्याएर सेवाग्राहीको हातमा पारिदिने बताएका छन् । यो कार्यले झनै सुनमा सुगन्ध थपिदिएको छ ।

प्रतिक्रिया