धार्मिक सद्भाव नेपालीको पहिचान भएको – नेकां नेता डा कोइराला

इनेप्लिज २०८० भदौ ९ गते १५:०९ मा प्रकाशित

मोरङ,९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले नेपाल वहुजातिय ,वहुधार्मिक वहुभाषिक मुलुक भएकोले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नु भयो ।

सङ्घीय सांसद कोइरालाले मुलुकमा कुनै पनि धर्मको वाहुल्यता नभएको तर संविधानमा लेखिएको कुरालाई पालना गर्नुपर्नेमा जोड दिनु भयो ।

केही दलका नेताहरुले आदिवासी जनजाति दिवसमा आगामी निर्वाचनमा वहुमत प्राप्त भएमा जातिय एवं पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने घोषणा गर्ने कार्य गलत भएको विचार व्यक्त्त गर्नु भयो ।

नेकां नेता कोइरालाले कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

मुलुक तस्करहररुको ट्रान्जिट केन्द्र भएकोले यसलाई नियन्त्रण गर्न उच्चस्तरीय छानवीन टोली गठन गर्नुपर्ने सुझाव उहाँले दिनु भयो ।

नेता डा कोइरालाले जनताले बुझने गरि ललिता निवास, भुटानी शरणार्थी, सुन तस्करी काण्ड छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने धारणा राख्नु भयो ।

पदस्थापन समारोहमा नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, प्रेस युनियन प्रदेश अध्यक्ष मीनकुमार नवोदिन श्रेष्ठ ,नेपाल उद्योग परिसङ्घ कोशी अध्यक्ष भीम घिमिरे, उद्योग सङ्घठन मोरङ अध्यक्ष राकेश सुराना, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, सुशिल कोइराला , युनियनका निवर्तमान अध्यक्ष भोजराज बस्नेत लगायतले सञ्चारकर्मीहरुले विकासलाई प्राथमिकतामा राखी सत्यतथ्यका आधारमा समाचार पस्कन आग्रह गर्नु भयो ।

युनियनका नव निर्वाचित अध्यक्ष वेदराज पौडेलाई निवर्तमान अध्यक्ष बस्नेतले पद हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया