विराटनगर,२७ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरुलाई श्रमसँग जोड्न लागि परेको बताउनु भएको छ।
मातृभूमि फाउण्डेशन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा ‘युवाका लागि हरित शिप : विश्व दिगो विकासतर्फ’ नाराका साथ आज यहाँ आयोजित अन्तरक्रियाको उद्घाटन गर्दै मुलुकमा सुशासन कायम , भ्रष्टाचार नियन्त्रण गरि विदेश पलायन युवाहरुलाई रोक्ने कार्यदिशातर्फ सरकार अगाडि वढिरहेको धारणा राख्नु भयो ।
मन्त्री मोदीले सङ्घीयतामा महिला, छिडिएका क्षेत्रका जनता र अपाङ्गताले राज्यमा अधिकार प्राप्त गरेको विचार राख्नु भयो ।
उहाँले मुलुकमा समानुपातिक समावेशीको कारण वर्तमान अवस्थामा जनताका छोरा एवं छोरी राष्ट्रपति भएको उदाहरण प्रस्तुत गर्नु भयो ।
मन्त्री मोदीले वातावरण प्रदुषण न्यूनिकरणका लागि युवाहरुले प्रविधिको प्रयोग गरी समाजलाई डोर्याउन आग्रह समेत गर्नु भयो ।
उहाँले समाजप्रति उत्तरदायी भएर अगाडि वढ्नु युवाहरुलाई आग्रह गर्दै हाम्रो संस्कृति, नैतिक शिक्षालाई अगाल्न आवश्यक भएको बताउनु भयो ।
मन्त्री मोदीले युवाहरुले विराटनगरको विकास गर्न र यसलाई पहिलो शहरको रुपमा विकास गर्न नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो ।
फाउण्डेशनका अध्यक्ष चाँदबाबु इराकी,भारतीय युवा प्रतिनिधि शुभ्रो राय, युवा अभियन्ताहरु बसन्त अधिकारी, विवेक दाहाल र सत्तार अन्सारीले वातावरण चुनौती समाधानका लागि युवालाई समावेश गर्नु पर्ने तथा विदेश पलायत हुने युवाहरुलाई सरकार विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनु भयो ।
सो अवसरमा मन्त्री मोदीले विभिन्न क्षेत्रका युवाहरुलाई सम्मान गर्नु भएको थियो ।
प्रतिक्रिया